सरिता पौडेल, मुसिकोट: मुसिकोट युवा क्लबले संचालन गरेको मासिक नियमित हाट बजारमा जेष्ठ ३२ गते बिरुवा वितरण तथा अन्य विविध कार्यक्रम सम्पन्न गरिएको छ ।
मुसिकोट युवा क्लब सामाजिक काममा निरन्तर अग्रसर भैरहेको क्लब हो, स्थापनाको छोटो समयमै मुसिकोटका सबै वडामा आफ्नो समन्वय समिती निर्माण गर्दै सामाजिक कार्यलाई सहज बनाएको छ ।
हरेक महिनाको अन्तिम शुक्रवार मुसिकोट ४ को हलोगाडे बजारमा कृषकहरुको कृषिजन्य उत्पादनको बजारिकरण गर्ने र किसानलाई प्रोत्साहन गर्ने उदेश्यले हाट बजार संचालन गरिएको मुसिकोट युवा क्लबका उपाध्यक्ष दिनेश सिंह ठकुरीले बताए ।
हरेक महिना हाटबजारको साथै फरक फरक कार्यक्रम गर्दै आईरहेको र यो महिना बिरुवा रोप्ने समय भएकोले सुन्तला कागती लगाएत बिरुवा वितरण गरिएको साथै मुसिकोट २/३ र ४ लक्षित गरि स्थापना भएको अस्थायी प्रहरी चौकीका प्रहरीहरुलाई सम्मान र राष्ट्रिय कलाकार श्रीकृष्ण बम मल्लको उपस्थितिमा सास्कृतिक कार्यक्रम समेत गरिएको क्लबका मुसिकोट ४ समन्वय समितिका अध्यक्ष सागर शाही ठकुरीले बताए ।
स्व. बुवा गणेश सिंह ठकुरी र मुवा भवानी सिंह ठकुरीको सम्झनामा छोरा बुहारी केशव सिंह ठकुरी, राधिका सिंह ठकुरी नातिनी निर्भाणा सिंह ठकुरी तथा ठकुरी परिवार गल्कोट नगरपालिका बाग्लुङबाट क्लबलाई विभिन्न जातका बिरुवाहरु हस्तान्तरण गरि क्लब मार्फत स्थानिय बासिन्दाहरुलाई वितरण गरिएको क्लब अध्यक्ष बसन्त अधिकारीले जानकारी दिए ।
हाम्रो पहिचान नौमती बाजालाई जोगाई राख्न नौमति बाजा समेत प्रस्तुत गरि उपस्थित सबैलाई नौमती बाजामा मनोरञ्जन समेत गराईएको थियो ।
स्मरण रहोस मुसिकोट युवा क्लबले मुसिकोटका सबै वडाहरुमा निरन्तर कार्यक्रम गर्दै आईरहेको छ ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क