एजेन्सी – गत मार्चमा सन्न्यास फिर्ता लिदै राष्ट्रिय टोलीमा फर्किएका स्वीडिस भेट्रान फरवार्ड तथा कप्तान ज्लाटन इब्राहिमोभिचले अर्काे महिनाबाट शुरु हुने युरोकप गुमाउने पक्का भएको छ ।
३९ वर्षीय भेट्रान फरवार्ड ज्लाटनले चोटका कारण युरोकप गुमाउने पक्का भएको हो । स्वीडेनको अफिसियल ट्वीटर ह्यान्डलको एक पोस्टमा इब्राहिमोभिचले चोटका कारण युरोकप २०२० खेल्न नसक्ने प्रशिक्षक जान्ने एन्डरसनले बताएको उल्लेख छ । उनले गत ९ मार्चमा युभेन्टसमाथि ३–० को जित निकालेको खेलमा चोट बोकेका थिए । उनले ६६औं मिनेटमा मैदान छाडेका थिए ।
स्वीडेनका लागि सर्वाधिक गोलकर्ता (६२) रहेका उनले गत मार्चमा सन्न्यास फिर्ता लिने बताएपछि उनलाई राष्ट्रिय टोलीमा डाकिएको थियो । ५ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कदा गत मार्चमा जर्जियालाई १–० ले पराजित गरेको खेलमा उनले असिस्ट दिएका थिए । त्यसपछि उनले विश्वकप छनोटकै अर्काे खेलमा कोसोभोमाथि ३–० को जत निकालेको खेलमा प्लेयर अफ दि म्याच प्रदर्शन गरेका थिए ।
युरोकप ११ जुनदेखि ११ जुलाईसम्म हुदैछ । गत वर्ष नै हुनुपर्ने युराकप कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको थियो । युरोकपअघि स्वीडेनले फिनल्यान्ड र अर्मेनियासँग मैत्रीपुर्ण खेल खेल्दैछ । स्वीडेन रहेको समूह ‘ई’ मा पोल्यान्ड, स्लोभाकिया र स्पेन रहेको छ । स्वीडेनले समूह चरणमा १४ जुनमा स्पेन, १८ जुनमा स्लोभाकिया र २३ जुनमा पोल्यान्डसँग खेल्ने तालिका छ ।
गत अप्रिलदेखि युइएफएले ज्लाटनमाथि एक सट्टेबाजी गर्ने कम्पनीमा कथित आर्थिक चासोको विषयमा अनुसन्धान गरिरहेको छ ।