काठमाडौं । नेपालमै पहिलोपटक एउटै प्रतियोगिताको मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो आयोजना हुने भएको छ। भारतीय संगीत क्षेत्रमा स्थापित टि सिरिज स्टेज वर्क गुहावटी र टि सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा शो हुन लागेको हो।नेपालका लागि अधिकारिक प्रतिनिधि काइजेन इन्क प्रालिको आयोजनामा नाइस टेलिभिजन एचडीमार्फत युनिक डिजिटल अनलाइन ट्यालेन्ट हन्ट रियालिटी शो आयोजना हुनेछ।
डिजिटल पेमेन्ट गेटवे डिजी पे मुख्य प्रयोजक रहने प्रतियोगितामा तीनवटै विधाका विजेतालाई टि सिरीज स्टेज वर्क गुहावटीमा काइजेन इन्कका तर्फबाट १० लाख रुपैयाँबराबरको छात्रवृृत्ति प्रदान गरिने आयोजकले जनाएको छ। मुख्य विजेताले सतप्रतिशत त्यस्तै, उपविजेताले ७५प्रतिशत र तेस्रो स्थान हासिल गर्नेले पनि संगीत, नृत्य वा अभिनय प्रशिक्षणमा ५० प्रतिशत छात्रवृत्ति पाउनेछन्। विजेता तथा प्रतिस्पर्धीले उपाधिसँगै प्रायोजकहरूबाट आकर्षक गिफ्ट ह्याम्परसमेत प्राप्त गर्नेछन्।
आयोजकका अनुसार छनोट चरणका आठ, सेमिफाइनलका दुई र ग्रान्ड फिनालेको एकसहित ११ शृंखलामा पूरा हुने रियालिटी शोमा विजेताको छनोट निर्णायकको अंक, डिजिटल भोटिङ र सोसल मिडियाको प्वाइन्टका आधारमा गरिने छ। प्रतियोगितामा नेपाली र भारतीय चलचित्र तथा संगीत उद्योगका हस्तीलाई निर्णायक राखिने छ भने प्रत्येक शृंखलामा तीनवटै विधाका दुई–दुई अलग निर्णायक रहनेछन्।
डिजी पेका प्रबन्ध निर्देशक दिवाकर पाण्डेले जितहार आफ्नो ठाउँमा भएको र आफ्नो प्रतिभा देखाउन यतिको राम्रो ठाउँ पाउनु धेरै राम्रो भएको बताए। यस्तो स्तरीय कार्यक्रममा प्रयोजन गरी सहभागी हुन पाउँदा खुसी लागेको उनले बताए।त्यसैगरी काइजेन इन्कका कार्यकारी अधिकृत सुष्मा मानन्धरले कार्यक्रमपछि आफनो प्रतिभा झन् निखार्न काइजेन इन्कमा सम्पर्क गरी टि सिरिज स्टेज वर्क गुहावटीमा आफूलाई रोजेको विषयमा अध्ययन गर्न सकिने बताइन्।
आयोजकका अनुसार अनलाइन अडिसनबाट छनोट भएका १ सय २० प्रतीस्पर्धीबीच तीन चरणबाट खारिएका प्रतिभाले ग्रान्ड फिनालेमा आफ्नो प्रस्तुति देखाउनेछन् । रियालिटी ट्यालेन्ट हन्ट नेपालकै दोस्रो स्याटेलाइट एचडी च्यानल नाइस टेलिभिजन एचडीमार्फत साताका दुई दिन शुक्रबार र शनिवार राति ८ः४५ बजे प्रशारण हुनेछ। सेमिफाइनल र ग्रान्ड फिनाले शनिवार प्रशारण गरिने आयोजकले जनाएको छ । साभार : आयो मेल