काठमाडौं । यातायात व्यवस्था विभागले खालि कार्ड सकिएपछि लाइसेन्स छपाइ बन्द गरेको छ । अघिल्लो वर्ष बन्दाबन्दीकै बीच कार्ड छपाइ गरेर डेढ वर्षदेखि रोकिएका कार्ड बाँडेको विभागले यस वर्ष निषेधाज्ञाका बीच अन्य चाप नहुँदा पनि कार्ड छपाइको काम गर्न सकेन। कार्ड अभाव भएपछि विभागले गतवर्ष फागुनदेखि नै नियमित लाइसेन्स छपाइको काम गर्न सकेको छैन । विभागसँग फागुनमा ३० हजार जति मात्रै कार्ड स्टक रहेपछि कार्ड छपाइको नियमित काम रोकिएको थियो ।
यो बीचमा अत्यावश्यक केही कार्ड छपाइ गरेकोमा अहिले करीब २० हजार मात्रै खाली कार्ड बाँकी रहेको विभागका महानिर्देशक नवराज घिमिरे बताउँछन् । उनका अनुसार फागुनपछि विदेश जान लागेका सेवाग्राही, कर्मचारी, मिशनमा जान लागेका आर्मी, प्रहरी लगायत अत्यावश्यक परेकालाई मात्र विभागले लाइसेन्स छापेर उपलब्ध गराएको छ ।
हालसम्म विभागले २०२० डिसेम्बरसम्मका २० लाख कार्ड छपाइ गरेर यातायात कार्यालयहरूमा पठाइसकेको थियो । २०२१ जनवरीदेखिका ६ लाख कार्ड छाप्न बाँकी रहेको घिमिरेले बताए । विभागले गतवर्षको बन्दाबन्दीमा मात्रै १० लाख कार्ड छापेर यातायात कार्यालयमा पठाएको थियो । तर, निषेधाज्ञाका कारण तिनको उपयोग हुन सकेको छैन । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।