काठमाडौं- २०६० सालमा भक्तपुरमा अवस्थित विद्याविकास माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेँ । प्लस टु उत्तीर्णपछि ०६३ सालमा काठमाडौं स्कुल अफ लमा भर्ना भएँ । ०६८ सालमा छात्रामध्येबाट स्नातक तहमा सर्वोत्कृष्ट स्थानमा उत्तीर्ण भएँ । त्यसबापत सम्माननीय राष्ट्रपति रामवरण यादवज्यूबाट नेपाल छात्रा विद्यापदकसमेत प्राप्त गरेँ । यस्तै, ०६९ सालमा नेपाल कानुन व्यवसायी परिषद्को लाइसेन्सको परीक्षामा पनि सर्वोत्कृष्ट बन्न सफल भएँ । त्यही वर्ष शाखा अधिकृत पदका लागि लोकसेवामा आवेदन दिएकी हुँ ।
आवेदन दिनुअघिसम्म कानुन व्यवसाय गर्ने या सरकारी जागिरमा जाने भन्ने अन्योलमा थिएँ । जब शाखा अधिकृत पदका लागि आवेदन बुझाएँ, सरकारी जागिर नै मेरो भविष्य हो भन्ने बोध भयो । र, मनमनै प्रतिज्ञा गरेँ, यो वर्ष नाम निकाल्न नसके पनि अर्को वर्षका लागि तयारी हुन्छ । एकातिर एलएलएमको अन्तिम परीक्षा नजिकिँदै थियो । उता लोकसेवाको तयारीमा होमिएँ । एकैसाथ दुईवटा महत्वपूर्ण परीक्षाको तयारी गर्नुपर्दा लोकसेवाका लागि प्रशस्त समय दिन सकिरहेकी थिइनँ । भएको समय दुवै परीक्षाका लागि बाँडचुँड गरेँ । करिब दुई महिनाको तयारीमा दिएको परीक्षाको नतिजा आउँदा खुलाबाट नेपाल न्याय सेवा, न्याय समूह र कानुन समूह गरी दुवै समूहको लिखित परीक्षामा उतीर्ण भएँ । र, लोकसेवा आयोगबाट नेपाल न्याय सेवाअन्तर्गतको न्याय समूहमा एक नम्बरमा सिफारिस भएँ ।
शाखा अधिकृतको रूपमा चार वर्ष सर्वोच्च अदालतका विभिन्न शाखामा काम गर्दै थिएँ । शाखा अधिकृतमा नियुक्त भएको चार वर्ष पुगेपछि फेरि उपसचिवका लागि प्रतिस्पर्धामा भाग लिएँ । ०७५ साल साउन ३० गते नेपाल न्याय सेवा, न्याय समूह र सरकारी वकिल समूहको खुला र आन्तरिक गरी ४ वटै स्थानको लिखित परीक्षामा उतीर्ण भएँ । र, मैले नेपाल न्याय सेवा, न्याय समूह रोजेँ र एक नम्बरमै उपसचिव पदमा सिफारिस भएँ । हाल म सर्वोच्च अदालतमा उपरजिस्ट्रार छु । ३० वर्षको उमेरमै उपसचिव पदमा उत्तीर्ण म सम्भवतः न्याय सेवामा सबैभन्दा कम उमेरको उपसचिव हुँ ।
सरकारी सेवामा प्रवेश
बुबा न्याय सेवामा रहनुभएकाले मभित्र पनि सानैदेखि एक दिन न्यायाधीश हुनुपर्छ भन्ने लाग्थ्यो । म हुर्कंदै आउँदा न्यायाधीश बन्ने त्यो भोक, इच्छा र चाहना पनि सँगै हुर्कियो । प्लस टुलगत्तै कानुन पढेँ । आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर मिहिनेत गरेँ । जागिर मात्र खानेभन्दा पनि राष्ट्रको सेवा गर्ने अवसरको रूपमा लिएको छु । मेरो अनुभवमा अध्ययनलाई दैनिक क्रियाकलापको रूपमा विकास गर्न सकेमा कुनै पनि परीक्षामा सहज उत्तीर्ण हुन सकिन्छ ।
यसरी गर्थें परीक्षाको तयारी
शाखा अधिकृतको तयारी गर्दा स्नातक तहमा पढेका सामग्रीहरूले धेरै सहयोग ग¥यो । बजारमा लोकसेवाकै तयारीका लागि प्रकाशित पुस्तकबारे जानकारी थिएन । कुन किताब महŒवपूर्ण हो भन्ने पनि थाहा थिएन । लोकसेवासँग सम्बन्धित वा असम्बन्धित विभिन्न किताब संकलन गरेँ र पढेँ । पढ्ने तरिकाबारे साथीहरूसँग छलफल गर्थें । प्रायः धेरैजसो दोहोरिएका प्रश्नलाई महत्व दिन्थेँ । त्यस्ता पुराना प्रश्नपत्रहरूको संकलन गरी त्यसले खोजेको उत्तर लेख्थेँ । प्रश्नपत्रको समाधान गर्दा संकलित सामग्रीको सहायता लिन्थेँ । यसरी प्रश्नपत्र समाधान गर्दै जाँदा लगभग सम्पूर्ण विषयमा विस्तृत नोट नै बनेको थियो ।
यद्यपि, परीक्षाको तयारी पूरा भएको थिएन । र पनि पहिलो प्रयासमै अधिकृतमा सफल भएँ । उपसचिवको तयारी गर्दा भने करिब एक वर्ष समय दिएँ । पुराना प्रश्नपत्रका आधारमा परीक्षामा सोधिएका विषयस्तुसँग मिल्ने पाठ्यसामग्री, अध्ययन प्रतिवेदनलगायत सामग्रीहरू पढ्ने गर्थें ।
पढ्ने तरिका
आवश्यकताअनुसार विभिन्न किताब पढ्नुपर्दछ । गुणात्मक अध्ययन सामग्री संकलन गर्ने बानी बसाल्नु जरुरी छ । पढ्ने तरिका व्यक्तिपिच्छे फरक हुन्छ । भाषाशैली फरक हुन्छ । तर, विषयवस्तु भने एउटै हुन्छ । त्यसकारण कसैको नक्कल गर्नुभन्दा आफ्नै शैलीमा पढ्नुपर्छ । तर, जे–जस्तो शैली अपनाए पनि विषयवस्तुको नोट बनाउँदा वा प्रश्नको उत्तर लेख्दा ५ वटा ‘सी’ लाई ध्यान दिनुपर्दछ । त्यो भनेको कन्सेप्ट, कन्टेन्ट, कन्टेक्स्ट, क्रिटिकल एनालाइसिस र कन्क्लुजन । यस्तै, परीक्षा नजिकिँदै जाँदा नोटहरू हेर्ने, बुँदाहरू याद गर्नुपर्दछ । साभार :खबर सेन्टर