छड्के न्युज \ कपिलवस्तु – कपिलवस्तु जिल्लाकी शुभावती थारु घर निर्माणका काममा व्यस्त हुनुहुन्छ । काम नगरे छाक टार्न धौधौ पर्ने भएकाले उहाँ दैनिक पर्खाल लगाउने र प्लाष्टर गर्ने काम गर्नुहुन्छ । सोह्र वर्षदेखि सिमेन्ट, बालुवा, छड र गिट्टीसँगै खेल्ने थारुलाई बानी परेको छ । थारु अहिले निर्माण क्षेत्रमा घर बनाउने दक्ष मिस्त्री भइसक्नुभएको छ । पुरुष मिस्त्रीसरह काम गरे पनि ज्यालामा विभेद हुने गरेको थारुको गुनासो छ । “शुरुमा काम गर्दा पुरुष मिस्त्री मात्रै थिए । अहिले उनीहरुजत्तिकै काम गर्छु तर ज्याला कम पाउँछु,”
थारु भन्नुहुन्छ, “पुरुष भएकै कारण सँगै काम गर्नेले रु ८ सयदेखि ८ सय ५० सम्म पाउँछन् म रु पाँच सय मात्रै पाउँछु ।”पटकपटक काम एउटै भएपछि ज्याला समान दिन माग गरेपनि सुनुवाइ नभएको थारुको गुनासो छ । घरमा श्रीमान्को मृत्युपछि आम्दानीको बाटो हराएकाले तीन छोरीको लालनपालन र शिक्षाका लागि घर निर्माणको काम गर्न थालेको उहाँको भनाइ छ ।
थारु भन्नुहुन्छ, “धेरै भनिरहँंदा कामबाटै हात धुनुपर्छ कि भन्ने डर लाग्छ, अहिले त ठेकेदारले दिएको लिएर जानुबाहेक विकल्प छैन । ” दिनभरि कमाएको पैसाले घरखर्च चलाउनसमेत गाह्रो भएको थारु बताउनुहुन्छ । अन्य आम्दानीको स्रोत नहुँदा श्रीमान्को अभावमा उहाँलाई परिवार धान्न निकै समस्या छ । “घरमा छोरीहरु छन्, उनीहरुको पढाइ खर्च बढिरहेको छ, आफूले कमाएअनुसार ज्याला पनि पाइन्न”, थारु भन्नुहुन्छ, “कमाएको जति पैसा छोरीहरु पढाउन र घरखर्चमै सकिन्छ ।
”घर निर्माणकै क्षेत्रमा मजदूरी गर्दै आउनुभएका गौरी चौधरीको पनि गुनासो उस्तै छ । दिनभरि पुरुषसरह खटेर काम गर्दा पनि चौधरीले कहिल्यै समान ज्याला पाउनुभएको छैन । एउटै श्रम गर्ने पुरुषले दैनिक ज्याला रु ५१० पाउँदा चौधरीको हातमा रु ४७० मात्र पर्छ । सात वर्षदेखि निर्माण क्षेत्रमा मजदूरी गर्दै आउनुभएका चौधरी घरको तीनचार तला माथिसम्म सिमेन्ट बोक्ने र अन्य सामग्री पु¥याउनुहुन्छ । “दिनभरि ५० किलोका सिमेन्टका बोरा बोक्नुपर्छ तर दिनेबेलामा मलाई थोरै पैसा दिन्छन्, ।
साह्रै चित्त दुख्छ”, उहाँ भन्नुहुन्छ, “ महिलालाई हेपेर त होला, होइन भने पैसा बुझ्ने बेला ४० रुपैयाँ कम दिन्छन् ।”त्यस्तै समस्या वाणगङ्गाकी मजदूरी गर्ने विष्णु थारुले पनि वर्षौँदेखि भोगिरहनुभएको छ ।
पुरुषसरह काम गरे पनि ज्याला कहिल्यै समान नपाएको उहाँको गुनासो छ । “मेरो इमानदारीको फाइदा उठाएर ज्यालामा शोषण गर्छन्, यो मैले राम्रोसँंग बुझेकी छु तर कसलाई भन्ने, ठेकेदारलाई भन्यो भने कामबाटै निकालिदिने हो कि भन्ने डर लाग्छ ”, थारु गुनासो गर्नुहुन्छ । महिला भएकै कारण ज्यालामा विभेद हुँदा मजदूर संघसंगठनले पनि खासै आवाज उठाएको पाइँदैन । वडा नं १ का वडाध्यक्ष बालकुमारी पन्त पनि विश्व श्रम सङ्गठन र नेपालको संविधानले श्रम विभेद नगरेको उल्लेख गर्दै विभिन्न वडामा भएको यो समस्याबारे आफूले आवाज उठाउँदै आइरहेको जानकारी दिनुभयो । महिला अधिकारकर्मी इन्दिरा भट्टराईले पटकपटक आफूहरुले आवाज उठाइरहेको तर पीडित श्रमिक महिलाले सम्बन्धित निकायमा आफ्नो गुनासो नराखेकाले समस्या जहाँको तहीँ रहेको हो भन्नुभयो । नगरपालिकाका उपप्रमुख चक्र अर्यालले यस्तो गुनासो नगरपालिकामा अझसम्म नआएको बताउँदै आगामी दिनमा समस्याबारे जानकारी आएमा आफूहरुले सम्बोधन गर्ने बताउनुभयो ।साभार : नारी प्रेस