विराटनगर – प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले कोभिड -१९ रोकथाम र नियन्त्रण आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारी समक्ष बिहीबार दिउँसो सपथ लिएपछि संचारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलो प्राथामिकता के रहन्छ भनेर संचारकर्मीले सोधिएको प्रश्नमा उनले भने, ‘कोभिड १९ नियन्त्रण मेरो प्रथामिकता हो ।’ उनले महामारीको रूपमा फैलिएको कोभिड-१९ लाई रोकथाम र नियन्त्रणमा लागि पर्ने बताए ।
‘संक्रमणको तेस्रो लहर पनि आउन सक्ने सम्झवना विज्ञहरूले बताउँदै आएका छन्,’उनले भने, ‘ कोभिड रोकथाम र नियन्त्रणमा लागि पर्नेछु ।’ आचार्यलाई निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा संसदीय दलको नेता बनाइएको हो । आचार्य दलको नेता चयन भएपछि राईले प्रदेश प्रमुख सोमनाथ प्यासीकहाँ मुख्यमन्त्रीबाट आजै राजीनामा बुझाएका छन् । आचार्यले प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा (१६८)१ बमोजिम मुख्यमन्त्रीको रूपमा शपथ लिएका हुन् । बिहान ९ बजे नै संसदीय दलको बैठक बस्ने भनिए पनि शेरधन राई र भीम आचार्य काठमाडौंबाट आउन ढिलाइ भएपछि विराटनगर विमानस्थल नजिकैको एसियाटिक होटलमा एमाले संसदीय दलको बैठक बसेको थियो ।
९३ सदस्यीय प्रदेशसभामा हाल एमालेको ५२ अर्थात प्रष्ट बहुमत छ । तर, एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा कति सांसद जान्छन् टुंगो छैन । यदि ६ भन्दा बढी एमाले सांसद एकीकृत समाजवादीतर्फ गए मुख्यमन्त्री आचार्य अल्पमतमा पर्नेछन् । प्रदेश संसदमा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका उपसभामुखसहित १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १(१ जना सांसद छन् । यसअघि माओवादी केन्द्र संसदीय दलका नेता टंक आङ्बुहाङ एमालेमा प्रवेश गरेपछि उनी कारबाहीमा परेका छन् ।यो समचार पनि पढ्नुहोस्……https://chhadkenews.com/8824