यस्तै छ मान्छे (कविता)
मनबहादुर खत्री ‘मनु’
इस्मा–२, मैनडाँडा, गुल्मी
नआटो नरोटी छ रित्तो भकारी
नमान्छे छ कोही दयाको विचारी
छ कस्तो छिमेकी नबुझ्ने समस्या
नचल्ने जुनी यो विनाको तपस्या
नदिन्छन् कुनै काम छाँट्छन् सरापी
छ कस्तो अहो यो मनुक्खे त पापी
कता पो छ त्यो ईश घुम्दै चहार्दै ?
छ ढाँडे अबोला निचोर्दै र मार्दै
छ होला र को नै यहाँ धर्म गर्ने
बुझेको दशा त्यो दयाभाव भर्ने
जता जान्छु मिल्छन् चुसाहा जुका ती
कसैले नछर्ने तिनीमा विषादी
विगारे तिनैले अवस्था सबैको
सकाए तिनैले सलामी सबैको
जुटेको छ राम्रो फुटेको नराम्रो
छ को नै छहारी बनेको ल हाम्रो
कली यो छ यस्तै छ मान्छे अधर्मी
बसेको छ आँखा लुकाई निसर्मी
धनी जो छ नामी भिकारी झनै ऊ
छ निर्धो मरेको सती झैं झनै ऊ
छ मान्छे र त्यागी निस्वार्थी कलीको
बनेको छ निर्धो त बोका बलीको
ल साथी जुटौं है भई गोलबन्दी
बसौंला हटाई अध्याँरो र मन्दी
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२