बिरेन्द्र गिरि /भालुवाङ २७ भदाै – थारु समुदायको दोस्रो ठूलो पर्व अट्वारी आज मनाइँदै छ । दाङ सहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत थारु समुदायको बसोबास रहेका जिल्लाका थारु समुदायमा कुशै औंशी पछिको पहिलो आइतबार यो पर्व मनाइन्छ ।आज दिनभरी व्रत बस्नुपर्ने भएकाले व्रत बस्ने पुरुषहरुले गएराती भाले नबास्दै भिनसर्या अर्थात दर खाने चलन रहेको थारु संस्कृतविद् अशोक थारु बताउछन । आज अट्वारीको दिन माछामासु बाहेक रोटि, दूध, दही, तरुल, फलफूल लगायतका परिकार अग्निमा चढाई पूजा गरीने उनको भनाई छ ।भोलिपल्ट बिहानै व्रतालु पुरुषहरु नजिकैको जलाशयमा गई स्नान गरेर रोटि, माछा, बिभिन्न तरकारीका परिकारहरु अग्निमा हवन गरेपछि शुद्ध पारी आफ्ना दिदीबहिनीका लागि कोशेली अर्थात अग्रासन छुट्याइन्छ ।यसरी छुट्याइएको अग्रासन विवाहित चेलीबेटीको घरमा दिन जाने चलन रहेको थारुले बताए । दिनभरी परिवार र आफन्ती भेला भएर खानपिन गर्दै रमाईलो गरिन्छ । आपसी सद्भाव र शुभकामना प्रकट गरी मनाइने यस पर्वलाई आफन्त संगको भेटघाट, दुखसुख बाँड्ने र आत्मीयता बढाउने अवसरको रुपमा पनि लिने गरिन्छ ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२