प्रेम सुनार, असोज ४, गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मीले सञ्चालन गरेको अक्सिजन अभियानको आय–ब्याय सोमबार सार्वजनिक गरिएको छ । महासंघका उपाध्यक्ष रेशम कुँवरको संयोकत्वमा गठित लेखा समितले पेश गरेको आर्थिक प्रतिवेदन सोमबार बसेको पत्रकार महासंघ तथा अभियान्तहरुको बैठकले अनुमोदन गरि सार्वाजानिक गरिएको हो ।
अनुमोदित प्रतिवेदन अनुसार यस अभियानभर संकलन भएको कुल रकम १ करोड, ४ लाख १९ हजार ९ सय ८५ रुपैयाँ रहेको छ । जस मध्ये कुल खर्च रकम ८८ लाख ९९ हजार १ सय ५० रुँपैया भएको छ । खर्च कटाई १५ लाख १९ हजार ९ सय ३५ रुपैयाँ बचत हुन आएको छ । उक्त बचत रकम अझै पनि जिल्लामा कोभिड–१९ को संक्रमण कायमै रहेको र भविश्यमा पनि संक्रमण थपिन सक्ने भएकोले जिल्लाका नागरिकहरु कै उपचारका लागि पत्रकार महासंघ कै खातामा राख्ने निर्णय बैठकले गरेको छ ।
पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याल, अक्सिजन अभियानका समनव्य समिति संयोजक जनार्दन घिमिरे, उपाध्यक्ष तथा लेखा संयोजक रेशम कुँवरद्धारा हस्ताक्षरित विज्ञप्तीमा ७ सय २ जनाले सहयोग गरेको, यस अभियानभर २४ जना अभियान्तहरु परिचालित भएको उल्लेख छ ।
२०७८ बैशाख २५ गते देखि सुरु गरिएको अभियान जेठ ६ गते बन्द गरिएको अभियानको हिसाव किताव समयमै सार्वाजानिक गर्न निकै प्रयत्न गरिएको, तर बोल रकम संकलन र विभिन्न माध्यामबाट प्राप्त रकम नेपाल पत्रकार महासंघको खातामा भए/नभएको प्रमाणिकरण गर्न निकै समस्या भएकोले चार महिना पछि सोमबार पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वाजानिक गरेका छौं ’– विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै यो अभियानमा सहयोग गर्ने स्वेश तथा विदेशमा रहेका गुल्मेली नागरिक, संघ/संस्था, माननिय ज्युहरु, राजनैतिक दलका नेता , स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, गुल्मी अस्पताल, स्वास्थ्य कार्यालय र अक्सिजन प्लाण्ट अभियानका सम्पुर्ण अभियान्तहरु प्रति हार्दिक आभार प्रकट गर्दै आगमी दिनमा आई पर्ने हरेक विपद्मा पनि यहाँहरुको सहयोग र साथको अपेक्षा राख्दछौं विज्ञप्तीमा उल्लेख छ ।’
नेपाल पत्रकार महासंघका सचिव प्रेम सुनारका अनुसार अक्सिजन प्लाण्ट स्थापना कार्य अन्तिम चरणमा पुगेको छ । स्थापनाका लागि नेपाल सरकारबाट १ करोड विनियोजन भएको थियो भने ६० लाख रुपैयाँ अक्सिन अभियानबाट संकलित रकम नेपाल पत्रकार महासंघले गुल्मी अस्पताललाई हस्तान्तरण गरेको छ ।
यस अवधीभर पत्रकार महासंघले कुनै पनि अस्पताल तथा आईसोलेशनमा अक्सिजनको अभाव हुन दिएन् । त्यसका अलवा पनि पत्रकार महासंघमा भरि अक्सिजनहरु सिलेण्डरहरु स्टक राखिएको छ ।