जनकपुरधाम । आफ्नो श्रीमान् चढ्ने मोटरसाइकलको कर मिनाहा गर्न प्रदेश २ की सांसद प्रमिला यादवले यातायात कार्यालय लहानलाई निवेदन लेखेको खुलासा भएको छ ।
सप्तरीको राजविराज नगरपालिका-२ घर भएकी यादव माओवादी केन्द्रकी समानुपातिक सांसद हुन् । उनले श्रीमानलाई आफ्नो स्वकीय सचिव बनाएकी छन् । श्रीमान् अशोक यादव चढ्ने स. ३ प. ८८४८ नम्बरको मोटरसाइकलको २०७८ सम्मको कर छुट गरिदिन प्रमिलाले यातायातमा निवेदन लेखेकी थिइन् ।निवेदन लिएर १५ दिनअघि अशोक यातायात कार्यालय पुगेका थिए । अशोक चढ्ने मोटरसाइकलको २०७८ सालको कर छुट गरिदिन सांसद प्रमिलाले आफ्नै लेटरप्याडमा निवेदन लेखेकी हुन् ।
तर, यातायातका प्रमुख मीन भट्टराईले कर छुटका लागि मन्त्रीस्तरकै निर्णय हुनुपर्ने भनेर पन्छाएकाे स्रोतले बतायो । ‘कसैको यातायातको कर छुटका लागि सरकारको मन्त्रीस्तरकै निर्णय हुनुपर्छ,’ भट्टराईले भने, ‘मैले पनि उहाँलाई यो कुरा भनेर पठाएँ ।’ त्यसदिन अशाेक इन्स्योरेन्स नविकरण मात्र गराएर फर्केका थिए ।
कार्यालयले सांसदको पत्रमा कर छुट नगरेपछि अशोकले करबापतको रकम तिरेको भट्टराईले बताए । कर मिनाहा नपाएपछि प्रदेश सांसदले थप जोडबल भने गरिनन् । १५ दिनपछि उनका श्रीमान् फेरि यातायात कार्यालय पुगेर कर चुक्ता गरेर फर्केको बुझिएको छ ।
सांसद यादवले भने मोटरसाइकलको कर छुट गरिदिन आफूले पत्र नलेखेको दावी गरेकी छन् । उनले भनिन्, ‘३/४ हजार रूपैयाँका लागि यस्तो घटिया काम किन गर्छु ? मेरो श्रीमान्ले आफैं करवापतको रकम तिर्नुभएको छ ।’
‘१५ दिन अगाडी श्रीमान् मोटरसाइकलको कर र इन्स्योरेन्स गराउन लहान यातायात कार्यालय पुग्नुभएको थियो,’ उनले भनिन्, ‘त्यो दिन इन्स्योरेन्स गराउनुभयो । कर पनि तिरिसक्नुभएको छ ।’