दाङ ०८,कार्तिक – गत शनिबार सम्पन्न नेकपा (एमाले) को १० औँ महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशनमा दाङमा पाँच महिला अध्यक्ष निर्वाचित भएका छन् ।
जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट बबई गाउँपालिका– ७ मा रुपा राना अध्यक्ष भएकी छन् । उनी बबई– ७ को वडा सदस्य र गाउँपालिकाको कार्यपालिका सदस्य छिन् ।
त्यस्तै दङ्गीशरण गाउँपालिका–१ को अध्यक्षमा ३६ वर्षीया दिलकुमारी पुन सर्वसम्मतरुपमा चयन भएकी छन् । घोराही उपमहानगरपालिका–१ को अध्यक्षमा टोपाकुमारी पौडेल सर्वसम्मत निर्वाचित भएकी छन् । उनी वडा सदस्य र उपमहानगरपालिकाको कार्यपालिका सदस्य पनि छिन् ।
त्यस्तै घोराही–४ मा लीला गोतामे अध्यक्ष चयन भएकी छन् । गोतामे निर्वाचित वडा सदस्य छिन् । गढवा गाउँपालिका– ४ मा सीता थापा वडा कमिटी अध्यक्ष भएकी छन् । थापा रेडक्रसकर्मीसमेत हुन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट दाङमा भने एक महिला वडाध्यक्षमा निर्वाचित भएकी हुन् । शान्तिनगर गाउँपालिका–३ कि पार्वती पुन वडाध्यक्षमा निर्वाचित भएकी छन् ।
एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्काले यसपटकको वडास्तरको अधिवेशन ऐतिहासिकरुपमा सम्पन्न भएको बताए । उनले अधिवेशनमा अधिकतम महिलालाई ३३ प्रतिशत नघट्ने गरी प्रत्येक कमिटीमा समावेश गरेको जिकिरसमेत गरे ।