कार्तिक १०,निसिखोला बाग्लुङ – बागलुङको निसीखोला गाउँपालिकाको कार्यालय र विभिन्न वडा कार्यालयसहित विद्यालय र घरमा टोडफोड तथा चोरी भएको छ । सोमबार राति गाउँपालिकाको कार्यालयसहित वडा नम्बर ३ र वडा नम्बर ४ को कार्यालय, प्रभा मावि, जन जिवराज सुशिलामा मावि, हिले प्रावि, बोहोरागाउँ लिटिल रोज बोर्डिङ स्कुल र १९ घरमा टोफोड तथा चोरी भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।
यो सबै घटना एकै रातमा भएको बताइएको छ । निसीखोला गाउँपालिका कार्यालयमा टोडफोडसँगै कागजपत्र छरप्रस्ट बनाएकाे गौतमको भनाई छ । त्यस्तै कागजात राख्ने दराज टोडफोड र सिसी क्यामेराको टार समेत काटेको उहाँको भनाई छ । सामान भने नहराएको उहाँले बाउनुभयो । चोरले वडा नम्बर ३ को वडा कार्यालय टोडफोड गरेको छ भने त्यहाँबाट ६०० रुपैयाँ चोरेको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो ।
अन्य क्षति भने नभएको उहाँको भनाई छ । वडा नम्बर ४ को कार्यालय पनि टोडफोड भएको छ । कार्यालय टोडफोडसँगै ११ हजार रुपैयाँ समेत चोरेको वडा कार्यालयले जनाएको छ । वडा नम्बर ३ र ४ दुवै कार्यालयको ढोका टोडफोड भएको छ । त्यस्तै वडा नम्बर ४ मा रहेको महिला सहकारीको कार्यालय ढोका समेत टोडफोड गरेको बताइएको छ ।
तीन विद्यालयमा टोडफोड भए पनि कुनै सामानहरु हराएको अहिलेसम्म पत्ता नलागेको गौतमले बताउनुभयो । बोहोरागाउँ लिटिल रोज बोर्डि स्कुलबाट कार्यालयको ढोका टोडफोड गरि १० हजार रुपैयाँ चोरेको बताइएको छ । चोरले विभिन्न कार्यालयसँगै १९ घरमा टोडफोड र चोरी गरेको गाउँपालिकाले जनाएको छ । वडा नम्बर २ मा २ र वडा नम्बर ३ मा १७ वटा घरमा टोडफोडसँगै नगद र जिन्सी चोरी गरेको गौतमले बताउनुभयो ।
वडा नम्बर ३ का वडा सदस्य खिमबहादुर शाहीको घरबाट साढे दुई तोला सुन र एक लाख नगद रुपैयाँ चोरी गरेको गाउँपालिकाले जनाएको छ । विभिन्न कार्यालय, विद्यालय र १९ घरबाट १० लाख रुपैयाँ बराबरको नगद र जिन्सी चोरी भएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो ।
राति टोडफोड तथा चोरी भए पनि आफूहरुले विहान मात्रै थाहा भएको भन्दै प्रहरीलाई जानकारी गराएको गौतमले बताउनुभयो । प्रभा माविमा राति १ बजे टोडफोड भएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गाउँपालिकाको कार्यालय भने विहान सात बजे कर्मचारीहरु आउँदा ढोकाहरु खुल्लै देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले सबै स्थानमा पुगेर मुचुल्का तयार गरेको भन्दै अहिलेसम्म कसैलाई पनि अनुसन्धानको दायराम नल्याएको बताउनुभयो । यसमा आफूहरु गम्भीर भएर अनुसन्धानमा लागेको बताउनुभयो