सागर भण्डारी/गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका वडा नं ६ का वडाध्यक्ष खड्क बहादुर खड्काले आफ्नो तलब गर्भवती महिलाहरुको पोषण स्वास्थ्यका लागि खर्च गर्दै आउनुभएको छ ।
दोश्रो कार्यकालको लागि वडाध्यक्ष पदमा निर्वाचित खड्काले आफ्नो पहिलो कार्यकालबाटै स्वास्थ्य संस्थामा सुत्केरी हुने गर्भवती महिलालाई पोषण कोशेली प्रदान गर्दै आउनुभएको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई प्रोत्साहन स्वरुप आफुले आफ्नो तलबबाट १ हजार रुपैयाँ दिने गरेको खड्काले बताउनुभयो ।
पाँच वर्षमुनिका बालबालिका, किशोरी, गर्भवती तथा स्तनपान गराइरहेकी महिलाको पोषण अवस्था सन्तोषजनक गराउन र न्यून आय भएका व्यक्तिहरुलाई थोरै भएपनि सहयोग होस् भन्ने उद्धेश्यले आफुले उक्त रकम दिँदै आएको खड्काको भनाई छ । नेपालमै पहिलो पटक आफुले यस्तो कार्यक्रम घोषणा गरेको दाबी गर्दै खड्काले अहिले देशका अन्य स्थानीय तहका वडाध्यक्षहरुले पनि यो कार्यक्रमलाई पछ्याएको उहाँले बताउनुभयो ।
खड्काले वडा नं ६ स्थित कुर्घा स्वास्थ्य चौकीमा सुत्केरी हुने वडा भित्रका महिलालाई उक्त रकम दिँदै आउनुभएको छ । उहाँले पहिलो कार्यकाल २०७४ देखि २०७९ हालसम्म उक्त स्वास्थ्य चौकीमा गर्भवती भएका ६७ जना गर्भवती महिलालाई सहयोग गर्नुभएको कुर्घा स्वास्थ्य चौकीकी अनमी पार्वती गाहाले जानकारी दिनुभयोे ।
त्यस्तै दोश्रो कार्यकालमा पनि वडाध्यक्ष पदमा निर्वाचित उहाँले आफु निर्वाचित भएपश्चात अहिले पनि यो कार्यक्रमलाई निरन्तरता दिने घोषणा गर्नुभएको छ ।
मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले वडाध्यक्ष खड्काले उदाहरणीय कार्य गरेको बताउनुभयो । न्यून पोषण भएका महिलाहरुलाई पोषण प्रवद्र्धन गर्न उहाँले रचनात्मक र उदारपूणर् काम गरेको भन्दै जिसीले अन्य वडाका वडाध्यक्षले पनि यो सिको गर्न सकेमा नगरपालिकाले लिएको जिरो होम डेलिभरीको लक्ष्य पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।