अनिल खत्री/०६ मंसिर ,गुल्मी: गुल्मी जिल्लाको कालीगण्डकीमा खन्युको रुखमा अड्किएको अवस्थामा बेवारिसे शव फेला परेको छ। जिल्ला कालीगण्डकी गाउँपालिका वडा नम्बर २, अर्बेनी स्थित कालिगण्डकी नदी पश्चिम तर्फ रहेको खन्युको रुखमा अड्किएको अवस्थामा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताउनुभयो।
फेला परेको शव शरीरको कम्मरमा सेतो कछाड बेरेको नग्न अवस्थामा सम्पुर्ण शरिरको भाग सडेगलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। खन्युको रुखमा अड्किएको अवस्थामा नाम, थर, वतन र लिङ्ग समेत नखुलेको बेवारिसे शवलाई पहिचानको लागि सबै तिर हुलिया पठाइएको भट्टराईले बताउनु भयो।
शवको लाश जाँच मुचुल्का समेतको कार्य सम्पन्न भए पनि हाल सम्म सनाखत हुन नसकी बेवारीसे रहेको प्रहरीले जनाएको छ।