माघ २६ गुल्मी : राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले पत्रकार भेटघाट मार्फत आगामी रणनीति सार्वजनिक गरेको छ । जिल्ला समन्वय समिति गुल्मीको सभाहलमा बुधबार पत्रकार भेटघाट मार्फत राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष राम मल्ल ठकुरीले आगामी रणनीति सार्वजानिक गरेका हुन् ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले अब लगत्तै स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सबै सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गर्ने रणनीति बनाएको छ । स्थानीय तहमा भएका भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीहरुको लगत संकलन गरेर उनीहरुलाई जग्गा प्रदान गर्ने कार्यक्रम पनि रणनीतिको रुपमा अगाडी बढाउने राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष ठकुरीले जानकारी दिए । विद्यालय र मन्दिरको जग्गा नक्साङ्कन गर्ने, वास्ताविक सुकुम्बासीहरुको पहिचान गरेर कसैलाई नछुटाई उनीहरुलाई जग्गा अनिवार्य रुपमा दिलाउने र आफ्नो कार्यकालमा सकेसम्म भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीहरुको अन्त्य गर्ने आफूहरुको रणनीति भएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले जनाएको छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीमा ८ जना कर्मचारीहरुले भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीहरुलाई जग्गा दिलाउन काम गर्ने छन् । जसमा ४ जना राजनीतिक दलबाट नियुक्त हुने छन् । अध्यक्षमा ठकुरी नेकपा एकीकृत समाजवादी पार्टीबाट नियुक्ती भइसकेका छन् । अब नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबाट एक जना विज्ञ सदस्य र २ जना सदस्यहरु नियुक्त हुनेछन् ।
अहिले पर्याप्त जग्गा नहुनेलाई राष्ट्रिय भूमि आयोगले कृषि गर्न चाहानेलाई सार्वजनिक जग्गा दिने समेत भएको छ । अव्यवस्थित बसोबासीहरुलाई २ रोपनीका दरले जग्गा प्रदान गरिने प्रावधान रहेको छ । गुल्मीमा ४ सय ३५ जना भूमिहिन दलित, ३ सय ९० जना भूमिहिन सुकुम्बासी र १ हजार ४ सय ४४ जना अव्यवस्थित गरेर २ हजार २ सय ६९ जना भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीहरु रहेका छन् । पत्रकार भेटघाट कार्यक्रममा उपस्थित पत्रकारहरुले कुनै राजनीतिक आस्थाका कारण वास्ताविक सुकुम्बासी नछुटाउन र गैर सुकुम्बासीलाई जग्गा दिने काम नगर्न राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष राम मल्ल ठकुरीलाई आग्रह गरेका थिए । राष्ट्रिय भूमि आयोग अहिले देशभर २८ जिल्ला र लुम्बिनी प्रदेशका ४ जिल्लामा मात्र गठन भएको छ ।( गुल्मी साप्ताहिक पत्रीकाले लेखेको खबर सुसम न्युजमा प्रकाशित छ ।)