गुल्मी, २२ फागुन : महिला उद्यमी संघ गुल्मीकाे अध्यक्षमा निर्मला केसी सर्वसम्मत निर्वाचित हुनुभएको छ । आइतबार संघको प्रारम्भिक साधारणसभाबाट गुल्मी जिल्लामा रहेका महिला उद्यमीहरूकाे साझा संस्था महिला उद्यमी संघ गुल्मी नेपालको अध्यक्षमा केसी सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
जसको उपाध्यक्षमा गंगादेवी पाण्डे, सचिवमा जमुना न्यौपाने र कोषाध्यक्षमा श्यामकला भलामीसहित ११ सदस्यीय महिला उद्यमी संघ गठन भएको छ ।
प्रारम्भिक साधरणसभा कार्यक्रममा तदर्थ समितिकी काेषाध्यक्ष श्यामकला भलामीले काेषाध्यक्षकाे तर्फबाट अहिलेसम्मकाे प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियो । तदर्थ समितिकी सचिव जमुना न्याैपानेले अहिलेसम्मकाे प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियो ।
साधरणसभामा प्रमुख अतिथि महिला उद्यमी संघ लुम्बिनी प्रदेशकी सदस्य अनिशा केसीले महिलाहरु आत्मनिर्भर बन्न र उद्यमशील बन्न आवश्यक रहेको बताउनुभयाे । विभिन्न स्थानीय तहसँग समन्वय गरेर महिलामुखी कामहरू आफूहरुले गरेको भन्दै गुल्मीमा पनि सबै महिला उद्यमी बन्न एकजुट हुनुपर्ने केसीले बताउनुभयाे । प्रदेशको तर्फबाट सधैं सहयोग हुने उहाँले बताउनुभयो ।
संघको कार्यालय रेसुङ्गा नगरपालिका वडा नम्बर ८ मा रहेको छ । संघको प्रारम्भिक साधरणासभाबाट निर्वाचित अध्यक्ष निर्मला केसीले अब आफूहरुले महिला उद्यमीहरूलाई संघमा आबद्ध गराउदै जाने बताउनुभयाे । महिला उद्यमीहरूकाे हकहितमा एकताबद्ध बनाउनका लागि आफूहरू निरन्तर खटिएको संघकी अध्यक्ष केसीको भनाइ रहेको छ ।
देशभर विस्तार भइसकेको महिला उद्यमी संघ गुल्मीमा अहिले खुलेको हो ।