जेठ १३ बुटवल – लुम्बिनी प्रदेश सरकारले १५औँ गणतन्त्र दिवस मनाउने भएको छ । दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम गर्ने तयारी गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
मन्त्रालयद्वारा शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राष्ट्रिय पर्वका रुपमा जेठ १५ गतेको गणतन्त्र दिवस मनाइने बताउनुभयो । नेपाली जनताको दशकौँ लामो सङ्घर्षबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको जनाउँदै उहाँले गणतन्त्र दिवसलाई भव्य र सानदार बनाउन सबैको साथ र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नेपालमा गणतन्त्र स्थापनामा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले दिवसलाई भव्य बनाउन सहयोग गर्न सञ्चारकर्मीलाई आग्रहसमेत गर्नुभयो । मन्त्रालयका सचिव तथा गणतन्त्र दिवस सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव कोमलप्रसाद धमलाले बुटवलसँग जोडिएका पालिकासँग समन्वय गरी दिवस मनाउने तयारी गरिएको बताउनुभयो ।