काठमाडौँ, १७ जेठ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमान प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा नभएसम्म जहाजहरूलाई उडानको अनुमति नदिने भएको छ ।
जहाज प्रस्थान गर्ने विमानस्थल र पुग्नुपर्ने विमानस्थलसहित इनरुट को मौसम सफा नभएसम्म जहाजहरूलाई उडान अनुमति नदिने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीपकुमार अधिकारीले बताए ।
उनले भने, ‘अहिलेसम्म भएका दुर्घटनाहरूमा प्रतिकूल मौसममा जहाज उडाएका कारण भएको देखियो, अबदेखि जहाज प्रस्थान गर्ने विमानस्थल र पुग्नुपर्ने विमानस्थलसहित इनरुटको मौसम सफा नभएसम्म उडान अनुमति दिइने छैन ।’
प्रतिकूल मौसमका कारण देशमा पटक-पटक हवाई दुर्घटना हुँदै आएको निष्कर्ष निकाल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले यो निर्णय गरेको हो । महानिर्देशक अधिकारीका अनुसार यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नुपर्ने उडान प्रणाली (भीएफआर) रहेको रुट र जहाजको हकमा लागू हुने भएको छ ।
अब जहाज उड्ने रुटको मौसमसमेत सफा रहेको निश्चित भएपछि मात्र उडान अनुमति दिइने र यसको कडाइका साथ पालना गरिने क्यानले जनाएको छ । प्राधिकरणका अनुसार इनरुटको मौसम कस्तो छ भन्ने विवरण भने जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई आधार मानिनेछ ।