साउन ०२, काठमाडौं – काठमाडौंको नक्सालको नागपोखरीस्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोडेर सुन तथा चाँदीका गरगहना चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौताराकी १८ वर्षीया सविना पराजुली, गुल्मी मुसिकोट-२ का २५ वर्षीय विष्णु पछाई र सर्लाही लालबन्दी-१६ का २० वर्षीय सिद्धार्थ बुढाथोकी रहेका छन् ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर तथा प्रहरी वृत्त मालीगाउँबाट संयक्त रूपमा खटिएको प्रहरीले सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीका गरगहनासहित पक्राउ गरेको हो । उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद मागेर अनुसन्धान थालिएको छ ।