सन्तोष महतारा / साउन ०३, गुल्मी -गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे झोलुंगे पुल उद्घाटनको प्रतीक्षामा रहेको छ । उक्त पुल तीन जिल्लाको संगमस्थल रिडीको कालीगण्डकी नदीमा निर्माण गरिएको हो ।झण्डै १० करोड लागतमा ८ वर्ष लगाएर निर्माण सम्पन्न भएको उक्त पुल विगत केही महिनादेखि उद्घाटनको प्रतीक्षामा रहेको निर्माण व्यवसायी करनजीत बर्माले जानकारी दिए ।
“निर्माणको काम सुरु गरेको ८ वर्षमा हामीले तीनमुखे पुलको निर्माण सकेका छौं । अब स्थानीय तह, प्रदेश र केन्द्र सरकारले समन्वय गरेर उद्घघाटन गर्ने दिनको प्रतीक्षामा छौं,” उनले भने । बर्खाको समयमा कालीगण्डकी नदीमा आउने बाढी, आर्थिक अभाव र कोरोना महामारीका कारण पुल निर्माणमा लामो समय लागेको उनले बताए ।
<span;>तीनमुखे झोलुंगे पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी, पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली र स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ चण्डीभञ्ज्याङलाई जोडेको छ ।
पुलको काम सकिएपछि उक्त स्थानमा आन्तरिक पर्यटकको चहलपहल बढेको स्याङ्जाका स्थानीय अमरप्रसाद कोइरालाले बताए । “केही वर्ष पहिले हामी डुंगामा जोखिमपूर्ण यात्रा गरेर आवतजावत गर्नुपर्ने अवस्था थियो । तीनमुखे पुलले अहिले हामीलाई निकै राहत पुगेको छ,” उनले भने । तीनमुखे पुलका कारण रिडीको आर्थिक उपार्जनमा पनि सहयोग पुग्ने उनको भनाइ छ ।
पुल उद्घाटनपछि अझै पर्यटकको घुइँचो लाग्ने भन्दै स्थानीय कोइरालाले आफूहरु उद्घाटनको प्रतीक्षामा रहेको बताए ।गुल्मीका स्थानीय बलबहादुर दरौजाले पनि तीनमुखे पुलका कारण आवतजावतमा सहज र पर्यटकको घुइँचो लागिरहेको बताए । उक्त नमुना पुलले गुल्मेलीलाई धेरै राहत मिल्ने भन्दै स्थानीय दरौजाले उद्घाटन गरेर व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । पाल्पाका स्थानीय सोनी गैरेले पुलका कारण तीन जिल्लाको पनि सम्बन्ध नजिकिएको बताइन् । सबै ठाउँमा दुई जिल्ला जोड्ने मात्र पुल भएको भन्दै पाल्पाका स्थानीय गैरेले नमुना पुलको प्रचारप्रसार गरेर पर्यटकलाई आकर्षित गर्न सकिने बताइन् ।तीन जिल्लामा जानको लागि कालीगण्डकी नदीको बीचमा ९ मिटर रनिङ गोलाइ भएको स्तम्भ निर्माण गरिएको छ । पुलमा २५ मिटर उचाइको भ्युटावर, बीचमा निर्माण भएको स्तम्भबाट तीन जिल्लासम्म पुग्न तीनैतर्फ १ सय ७७ मिटर लामो झोलुंगे पुलको निर्माण भएको छ । पुलमा अन्तिम चरणमा जाली, सोलार र भ¥याङको काम सकिएको निर्माण व्यवसायी करनजीत बर्माले जानकारी दिए ।
नेपालका ४ धाममध्ये एक रुरुधाममा नमुना झोलुंगे पुल बन्ने कामले सार्थकता पाएपछि स्थानीय उत्साहित बनेका छन् । पुलको शिलान्यास २०७१ मंसिर १५ गते संविधानसभा सदस्य डा.चन्द्र भण्डारी र तत्कालित मुख्य सचिव लिलामणि पौडेलले गरेका थिए । एसियाकै पहिलो तीनमुखे झोलुंगे पुल दाबी गरिएको उक्त पुल २०७१ मंसिरदेखि बन्न सुरु भएर केही महिनाअघि मात्र निर्माण सकिएको निर्माणको जिम्मा पाएको नयाँ बाटो रुविना मना जेभी कम्पनीले जनाएको छ । तीन जिल्ला जोड्ने पुल कुल ९ करोड ८८ लागतमा निर्माण सकिएको हो ।
तीन जिल्लाका तीन स्थानीय तह गुल्मीको रुरुक्षेत्र गाउँपालिका, पाल्पाको तानसेन नगरपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले समन्वय गरेर उद्घाटन गरिने रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । “तीनमुखे नमुना पुलको निर्माण केही समयअघि मात्र सकिएको छ । सडक विभागसँग समन्वय गरेर हामी तीन स्थानीय तहको सल्लाहमा छिट्टै उद्घाटनको तयारीमा छौं,” उनले भने ।