साउन ०४,काठमाडौं –जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित जनता टेलिभिजन एचडीले ९ महिनादेखि त्यहाँ कार्यरत कर्मचारीहरुलाई तलब नदिएपछि आजबाट हड्ताल शुरु भएको छ । लामो समयदेखि आश्वासन मात्रै पाइरहेका कर्मचारीहरु चुल्हो निभिसकेपछि भने आन्दोलित भएका छन् ।
आजबाट उनीहरुले नियमित प्रसारण हुने बुलेलिटमा कटौति गर्ने, रिपोर्टिङमा नजाने, शतप्रतिशत समाचार नपठाउने, अन्तर्वार्ता रोक्नेलगायतका निर्णय गरेका छन् ।
आन्दोलन स्थलमा सम्बोधन गर्दै श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले व्यवस्थापनले आजै सबैको पारिश्रमिक भुक्तानी नगरे विहिबारदेखि अझ कडाखालका कार्यक्रम लिएर आन्दोलन चर्काउने चेतावनी दिनुभयो । आन्दोलनस्थलबाटै व्यवस्था विजय पौडेललाई फोन गरि तत्काल हल गर्न जैसीले दबाब दिएका थिए । जवाफमा पौडेलले हल गर्नका लागि रकम जुटाउन लागिरहेको बताएका थिए । तर यस्ता झुट्टा आश्वासन व्यवस्थापनबाट धेरै चोटी आएको तर अहिलेसम्म हल नहुँदा बाध्यताबश आन्दोलित हुनु परेको अध्यक्ष जैसीको भनाइ थियो । यसअघि तलब नपाएपछि त्यहाँबाट धेरै कर्मचारी बिदा भइसकेका छन् ।
बाहिरिएका केही कर्मचारीले प्रेस काउन्सिल, सूचना विभाग, श्रमजीवी(पत्रकार संघ, नेपालमा मुद्धा दर्ता गराएका छन् । सर्वसाधारणहरुबाट शेयर उठाएर सञ्चालनमा आएको टेलिभिजनमा सामाग्री खरिदमा अनियमितता भएको हुनसक्ने, माथिल्लो तहका कर्मचारीहरुले बिना काम तलब, गाडी, इन्धन सुविधा लिएको भन्दै शेयर सदस्यहरु रुष्ट बनेका छन् । कम्पनी टाँट पल्टिने अवस्था आएको भन्दै शेयर सदस्यहरुले अनियमितता भएकोबारे छानबिन हुनुपर्ने बताएका छन् ।