भाद्र ०६, गुल्मी – शनिवार मुसिकोट नगरपालिका वडा नं ७ वामी बजारमा सञ्चारकर्मी माथि हातपात गर्ने युवाहरुले सार्वजनिक रुपमा माफि मागेका छन् ।
मुसिकोट नगरपालिका वडा नं २ निवासी जिटिभि नेपाल अनलाईनका सञ्चारकर्मी सुरज नेपाली माथि मुसिकोट ६ भुवाचिदीका केही युवाहरुले कुटपिट गरेका थिए ।पीडित नेपालीले दिएको किटानी जाहेरीको आधारमा वामी प्रहरी चौकीले कुटपिट घटनामा संलग्न केही युवाहरुलाई आईतबार बिहान नियन्त्रणमा लिएको थियो ।
त्यसपश्चात प्रहरी, स्थानीय जनप्रतिनिधि, पिडित र पिडक पक्ष तथा दुवै पक्षका अभिभावकहरुको उपस्थितिमा सार्वजनिक रुपमा माफी मागी आगामी दिनमा यस्तो गतिबिधि नहोहोराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिटिभि अनलाईनका सञ्चारकर्मीसगं कुनै पनि किसिमको दुश्मनी नरहेको भन्दै उनीहरुले आफुहरुबाट अञ्जानमा गल्ती भएकाले एकपल्टका लागि माफी दिन अनुनय गरेका थिए ।
उक्त घटनामा संलग्न युवाहरुले आफुहरुबाट गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा यस्ता गतिबिधि नगर्ने र कुटपिटबाट घाइते सञ्चारकर्मी नेपालीको स्वास्थ्य उपचार तथा परिक्षण गर्ने लिखित प्रतिबद्धता जनाएपनि उनीहरुलाई जनप्रतिनिधि र अभिभावकको रोहबरमा छोडिएको हो ।
छलफलमा मुसिकोट नगरपालिका वडा नं ६ का वडाध्यक्ष खड्क बहादुर खड्का, वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटा, वडा नं २ का वडाध्यक्ष रविन्द्र केसी, वामीमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरु र अभिभावकहरुको उपस्थिति रहेको थियो ।फेरी पनि यस्ता गतिबिधिमा संलग्न भए अन्य कठोर कानुनी उपचार खोज्ने समेत सहमतीमा युवाहरुले हस्ताक्षर गरेका छन् ।