कार्तिक ०६,गुल्मी— जब मादल बज्छ तब गाउँघर देखि बजार सम्म तिहार पर्वको झल्को दिन्छ । नेपाली लोक भाकामा अत्यधिक बज्ने मादल आजभोलि आधुनिक प्रविधिका बाजा भित्रिए सँगै मौलिक बाजा हराउँदै जान थालेका छन् ।एकातिर कला संस्कृति समाजबाट हराउँदै गएको छ भने अर्कोतिर मादल समुदायको पेसा नै सङ्कटमा परेको छ ।
नयाँ पुस्ता विदेशी बाजामा रमाउने, पुर्खाले गरेको काममा चासो नदिँदा पेसा नै हराउन थालेको मादल व्यवसायी डिल बहादुर नेपाली बताउँछन् ।विगत ११ वर्ष देखि गुल्मी सदरमुकाम तम्घासमा डिल बहादुर नेपालीले बाजाको पसल सञ्चालन गर्दै आएका छन् । तिहार पर्व नजिकिएसँगै यति बेला उनको पसलमा देउसी भैलो खेल्न मादल किन्ने र बनाउनेको भिड लाग्यो तर आधुनिक प्रविधिका बाजा प्रयोगमा आयसँगै मादल व्यवसाय नै सुनसान जस्तै छन् ।
युवा पीढी आधुनिक प्रविधिका बाजा सँग रमाउँदा मौलिकता दिने बाजा दिनप्रतिदिन हराउँदै गएको उनको गुनासो छ । तिहार पर्व नजिकिए सँगै देउसी भैलो खेल्न नयाँ मादल किनमेल र पुरानो मादल मर्मत गर्नेको भिडभाड हुने गर्दथ्यो । तर पछिल्लो समय आधुनिक प्रविधिका बाजा चलनचल्तीमा आएपछि गुल्मीमा मादल समुदायको पेसा नै सङ्कटमा पर्न थालेको छ ।
हिन्दु धर्मलम्वीका महान् पर्वहरूमा नेपाली बाजाहरू अत्यधिक खपत हुने गर्दछ । मादल,पञ्चेबाजा,खैजड, मजुरा,सारङ्गी,मुर्चुङ्गा,डमरु लगायतका नेपाली बाजाको निर्माण र बिक्री वितरण गरेर मादल समुदायले जिविको पार्जन गर्न समेत समस्या परिरहेको छ । एउटा मादल तयार गर्न २/३ दिन लाग्ने गर्दछ । एउटा मादलको सामान्यतया २५ सयदेखि पाँच हजार रुपैयाँसम्म पर्छ ।
सरकारले नेपाली बाजा बनाउने र बजाउने सिप र तालिमका कार्यक्रम सञ्चालन गर्न सकेमा युवाले स्वदेशमै रोजगारी पाउने र पेसाको संरक्षण हुने नेपाली उनी बताउँछन् ।
काठ, बाख्रा, भैँसी र गोरुको छाला, अङ्गार,खरी लगायतका सामग्री मिसाएर मादल तयार पार्ने गरिन्छ । नेपाली मौलिकता र कला संस्कृति झल्कने बाजाको संरक्षणको निम्ति स्थानीय स्रोत र साधनको परिचालन नागरिकको माग र आवश्यकता सञ्चालन गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त कार्यालय प्रमुख माधव प्रसाद अर्यालले बताए ।