नेपालगञ्ज – गत शनिवार नेपालगञ्जमा आयोजित नेपालगञ्ज म्याराथन प्रतियोगिताको समाचार संकलनमा रहेका पत्रकारमाथि भएको दुव्र्यवहारप्रति प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले आज एक विज्ञप्ति प्रकाशित गरी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सह–इन्जार्ज रुद्र सुवेदी, प्रेस चौतारी नेपाल बाँकेका नेता खम्बप्रसाद पुन लगायतका पत्रकारमाथि भएको दुव्र्यवहार निन्दनीय रहेको जनाएको छ ।
“पत्रकारको पहिचान हुँदा–हुँदै पनि तस्विर खिच्नेक्रममा आयोजक क्रियटिभ ह्याण्ड्स संस्थाका परिचालित कर्मचारीले समाचार संकलनमा फिल्डमा खटिएका पत्रकारमाथि बल प्रयोग गरेर धकेल्ने कार्यको प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समिति निन्दा तथा भ्रत्सना गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।स्वतन्त्रतापूर्वक संवैधानिक अधिकार सहितको जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि भएको यो दुव्र्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको ठहर छ ।
समितिका महासचिव निरु गौतमद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “यो घटनाले प्रेस स्वतन्त्रताप्रतिको आस्थामाथि गम्भीर चोट पुगेको छ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समिति पत्रकारमाथि गरिएको यो ज्यादतीको घोर भ्रत्सना गर्दै दोषीलाई कार्वाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछौँ ।”साथै आगामी दिनमा पत्रकारलाई स्वतन्त्रतापूर्वक निर्वाध रुपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना दोहोरिन नदिन प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले सम्वद्ध सबै पक्षको ध्यानाकर्षण गराएको छ ।
यस्तो छ प्रेस चौतारी लुम्बिनीको ध्यानाकर्षण गरिएको प्रेस विज्ञप्ती