गुल्मी – गुल्मीको थोर्गा गुड र खुदो पारखीहरुका लागि चिरपरिचित नाम हो । जिल्लाको रुरुक्षेत्र गाउँपालिका- ३ मा अवस्थित थोर्गा गुड र खुदोको लागि प्रर्याय जस्ते बनेको छ । त्यहाँ उत्पादन हुने गुड र खुदोको व्यापारले थोर्गेली कृषकहरुले मनग्य आम्दानी समेत गर्दै आएका छन् । देशविदेशमा थोगर्नेली गुड र खुदो माग बढ्दै जान थालेसँगै त्यहाँका कृषकहरु व्यवसायीक रुपमा गुड र खुदो उत्पादनका लागि उखु खेतीमा आकर्षित देखिएका छन् । भने व्यवसायीक रुपमा गुड र खुदो उत्पादन हुन थालेसँगै स्थानीयहरुले रोजगारी समेत पाएका छन् ।
स्थानीय चोलानाथ ज्ञवालीको थोर्गेली चोलानाथ गुड उद्योग सञ्चालन गर्नुभएको छ । २०७४ सालमा गुड उद्योग सञ्चालन गर्नुभएका ज्ञवालीले ५० रोपनी क्षेत्रफलमा उखु खेती गर्नुभएको छ । ५४ वर्षीय ज्ञवाली बिहान झिसमिसे देखि बेलुका अबेर सम्म उखुको स्याहार देखि खुदो, गुड बनाउनमै बित्ने गर्छ ।
किसानले बारीमा लगाएको उखु कोटर सफा गरेपछि काठ, फलामे मेसिनबाट रस निकालिन्छ । त्यो रसलाई फिल्टर गरेर आगोमा पकाएर खुदो बनाइन्छ । त्यही खुदोलाई सानासाना भा“डोमा पकाएर मसला र विभिन्न स्वाद हुने गरी निश्चित आकार अनुसार गुड तयार गरिन्छ । ज्ञवालीको फर्ममा अहिले दैनिक पाँच जनाले रोजगारी पाएका छन् । गुड र खुदो उत्पादनका लागि आधुनिक प्रविधिको प्रयोग गर्ने गरिएको छ । ज्ञवालीले गुड र खुदो विक्रि गरी वार्षिक ८ लाख आम्दानी गर्दै आउनुभएको छ ।
खुदो प्रतिलिटर १ सय ८० रुपैयाँदेखि २ सय ५० रुपैयाँ, सादा गुडको १ सय ७० र मसलावाला गुडको २ सय ५० रुपैयाँमा प्रतिकिलो बिक्री हुने गर्दछ । गुड पा“च प्रकारको बनाइन्छ । मसलेदार, सादा, चकलेटी, फसफसे र हाडे । सोंफ, नरिवल र बदाम लगायत राखेर तयार पारिएको गुडलाई मसेलेदार भनिन्छ । जुन अन्य गुडको तुलनामा अधिक बिक्री हुन्छ । बालबालिका र किशोरकिशोरीका लागि मुखमा राखेर चपाइराख्न हाडे गुड तयार गरिन्छ ।
स्कुल तथा कलेजका विद्यार्थीले धेरै खोज्छन् । थानपति, बलेटक्सार, हर्दिनेटा, थोर्गा र दिगाम लगायतका स्थान उखुका लागी जिल्लाकै पकेट क्षेत्र रहेका कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । गत बर्ष छत्रकोट गाउँपालिका दिगाम-मानकोट र हर्दिनेटा र रुरु गाउँपालिका विभिन्न स्थानमा उखु ब्लगको कार्यक्रम गरिएको भण्डारीले जानकारी दिनुभयो । यस आर्थिक बर्ष जिल्लाभर १ सय ७२ हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको छ । करिब २ करोड बराबरको उखु र त्यसका परिकार बाहिर निर्यात भएको भण्डारीले जानकारी दिनुभयो ।