गुल्मी– क्षयरोगबाट पिडित गुल्मीका आशिष विकलाई युएई बाट नेपाली पर्वासीले पठाएको सहयोग रकम हस्तान्तरण गरिएको छ । बुधबार क्षयरोगबाट पिडित विकको घरमा पुगेर पत्रकार अजय खड्का सहितको टोलीले सहयोग हस्तान्तरण गरेको हो ।
गुल्मीबाट प्रशारण हुदै आएको बी टेलिभिजन लगायत दर्जनौं मिडियाले आर्थिक अभावले अस्पतालको बेडमा आशिष छटपटिएको खबर प्रशारण तथा प्रकाशित गरेका थिए । खबर प्राप्त भएलगत्तै गुल्मी सेवा समाज युएईका उपाध्यक्ष जिवन कुवँर र कार्यसमिति सदस्य अजित खड्काको पहलमा रकम संकलन गरि नेपाली रकम रु ७४ हजार १ सय रुपैयाँ संकलन गरी पठाएका थिए ।
गत वर्षको कार्तिकमा साउदी अरब पुगेका विक अचानक बिरामी भएपछि उद्धार गरि नेपाल ल्याइएको थियो । उनको विर अस्पतालमा उपचार पश्चात घरमा ल्याइएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका ७ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका आशिषको परिवारमा बिपन्नताले बर्षौ र पुस्तौ छोडेन । पुस्तौँ देखी खोला किनारको सुकुम्बासी वस्तीमा बस्दै आएको आशिषको परिवारको आर्थिक अवस्था दयनिय छ ।
यसरी पर्वासी नेपालीहरुबाट सहयोग आएपछि आशिषको थप उपचारमा सहज हुने भएको छ ।
सहयोग गर्ने सबैलाइ आशिष लगाएत उनको परिवारले धन्यवाद ब्यक्त गरेको छ । उपचारमा अझै धेरै खर्च हुने भएकाले अन्य सहयोगी हातहरुमार्फत सहयोग अपेक्षा रहेको आमा मायाँ विकले बताइन् ।
आशिष विवाहित हुन उनको एक ४ वर्षको छोरा छन् । अहिले उनको अवस्थामा केही सुधार आएको छ । अहिले अशिषले आफुलाई बचाउन अपिल गरिरहेका छन् ।