गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं-७ वामीटक्सारमा सञ्चालित लुम्बिनी वामी हस्पिटल प्रा.लिले नयाँ वर्षको अवसरमा टिकट शुल्क नलिने भएको छ ।
हस्पिटलले नागरिकहरुलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले यसअगाडी लिँदै आएको टिकट शुल्कमा छुट गरिएको व्यवस्थापक दिपेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको हस्पिटलले नयाँ वर्षको अवसरमा वैशाख १ गतेदेखि नै लागु हुने गरी वैशाख महिनाभर ओपीडि शुल्क अर्थात टिकट शुल्क नलिने निणर्य गरेको उहाँले बताउनुभयो ।
अस्पतालले हाल दैनिक विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अर्का व्यवस्थापक रोशन सेनले टिकट शुल्क संगै औषधीमा समेत १० प्रतिशतसम्म छुट दिने निणर्य गरेको बताउनुभयो ।
मुसिकोट नगरपालिकामै एक मात्र एमबिबिएस डाक्टर सहित स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको हस्पिटलले प्रत्येक महिनाको दोश्रो शनिवार निशुल्क सुगर रोग परिक्षण तथा डाक्टर परामर्श प्रदान गर्दै आईरहेको छ ।
अस्पतालले दैनिक रुपमा चौबिसै घण्टा ईमरजेन्सी सेवा, ओपीडि, एक्सरे, भिडियो एक्सरे, एसिजी, प्रयोगशाला सेवा लगायत फार्मेसी सेवा उपलब्ध गराउँदै आएको छ । उपचारका लागि मुसिकोट नगरपालिका सहित छिमेकी बागलुङको बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिकाबाट समेत बिरामीहरु आउने गरेको अस्पतालले बताएको छ ।