काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी निकट पर्यटन व्यवसायी संगठन नेपालका सचिव प्रदिप पण्डितले आफ्नो संगठनका महासचिवको नेतृत्वमा आफूसहित २३ सदस्य एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा प्रवेश गर्न लागेको भनि गरिएको प्रचारबारे असन्तुष्टि जनाउनुभएको छ ।
टानको उपाध्यक्ष समेत रहुन भएका पण्डितले एमालेको उद्योग व्यवसाय विशेष जिल्ला कमिटि अन्तर्गत पर्यटन व्यवसाय विशेष ईलाका कमिटिको विशेष भेलाले महासचिव बद्री प्रसाद तिमल्सिनाको नेतृत्वमा २३ जनालाई एमाले प्रवेश गराउने निर्णय गरेको र उक्त लिष्टमा आफ्नो नाम राखिए पनि आफूले संगठन छाड्न लागेको कुरा निराधार भएको बताउनुभयो ।
संगठनमा सामान्य बिवाद भएपनि त्यसैको आधारमा संगठन छाड्ने निर्णयमा आफू पुगि नसकेको उहाँले बताउनुभयो । ‘ठुलो समूह प्रवेश गर्न लागेको भनेर भ्रम छर्नका लागि म सहित धेरै साथीहरुको नाम आफू खुसी राखिएको छ, त्यसमा हाम्रो असन्तुष्टि छ । एकतर्फी सार्वजनिक गरिएको लिष्टमा हस्ताक्षर नहुनुले पनि त्यो अवैध नाम लिष्ट भएको पुष्टि गर्छ ।’ उहाँले भन्नुभयो ।
संगठनमा देखिएको बिवादलाई आपसी समझदारी र छलफलबाट हल गरि थप सशक्त बनाउने अभियानमा लाग्ने उद्धघोष समेत गर्नुभएको छ ।