बसन्त अधिकारी, गुल्मी
गुल्मीको मुसिकोट नगरपालिका -६ कुर्घामा अवस्थित मालिका मन्दिरमा कार्तिक पूर्णिमाको अवसर पारी हरेक वर्ष आयोजना हुँदै आएको मेला सोमबारदेखि सुरु भएको छ । कार्तिक २६ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त मेलाका लागि आवश्यक तयारी पूरा गरि सुरु गरिएको मालिका मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
परम्परादेखि नै यहाँ चिच्याएर बर माग्ने अनौठो मेला लाग्ने गर्दछ । यस वर्ष जोग परेका कारण विगतका वर्षभन्दा भक्तजनको सङ्ख्या बढी हुने अनुमान गरिएको मन्दिरका मुख्य पण्डित टीकाराम उपाध्यायले बताउनु भयो ।
तिहारपछिको पूर्णिमामा मालिका मेला लाग्ने गर्दछ भने उक्त पूर्णिमा कार्तिक महिनाभित्र परेमा जोग परेको मानिने प्रचलन रहेको छ । उक्त प्रचलन अनुसार जोग परेको समयमा मन्दिरमा पूजा गरेर वर मागेमा मालिका माईले पूरा गरिदिने जनविश्वास रेहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर रायमाझीले जानकारी दिनुुुभयो।
परापूर्व कालमा मालिकाको घनाजङलमा तपस्यी ऋषि आई जङ्गलकोबीचमा तपस्या गरेपछि त्यस जङ्गलमा पानीको अभावले काकाकुल भएका जंगली जनावरलाई पानी वरदान पाएको र शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख रहेको वडा अध्यक्ष खड्क बहादुर खड्काले जानकारी दिनुभयो ।
मालिके बजै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले मालिका मन्दिर पानी खस्ने ठाउँ नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमामा मेलामा हजारौँ भक्तजन बर माग्ने मेलामा सहभागी हुने समाजसेवी ज्ञानु सापकोटाले बताउनु भयो ।
यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको स्थानीयहरु बताउँछन् । यो वर्ष पचास हजार भन्दा बढी भक्तजन बर माग्नका लागि मेलामा सहभागी हुने अपेक्षा गरिएको मेला व्यवस्थापन समितिका सचिब राम प्रसाद गौतम ( रामु) बताउनु भयो ।
मेलालाई थप आकर्षक बनाउन खुल्ला वडा स्तरीय भलिवल प्रतियोगिता, खुल्ला एकल रेकर्ड नृत्य प्रतियोगिता तथा कार्तिक २९ गते राष्ट्रिय कलाकारहरु अर्जुन सापकोटा, उज्वल गिरी, सिमा थापा लगाएत स्थानिय कलाकारहरुको प्रस्तुति साथै कुर्घेली भजन समुहको भजन प्रस्तुत समेत गरिने कार्यक्रम रहेको कार्यक्रम सफल बनाउन खटिईरहनु भएका युवा अभियन्ता निशान सारु मगरले बताउनु भयो ।
मेला व्यवस्थापनका लागि सर्वपक्षीय छलफल गरि मेला व्यवस्थापन, शान्ति सुरक्षा, भक्तजनका लागि चियाको ब्यबस्था गर्ने गरि तयारी गरिएको छ ।