गिता गौतम,न्युज छड्के संबाददाता / प्यूठान -सरकारले गरिब तथा विपन्नलक्षित ‘खरको छानोमुक्त अभियान’ थालेका ३ वर्षको अवधीमा ८ हजार ७ सय ५२ घरमा खरको छानो बिस्थापित भएको छ । संघ सरकारको अभियानले नसमेटेका कतिपय ठाउँमा स्थानीय सरकार आफैंले पनि खरको छानोमुक्त अभियान चलाईरहेका छन् । प्यूठानका ९ वटा स्थानीय तहले खरका छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने कार्यक्रम तिब्र बनाएका छन् ।
वर्षौं देखी खरले छाएको चुहिने तथा पानी पस्ने घरमा बस्दै आएका विपन्न परिवार जस्तापाताले घर छाउन पाउँदा खुशी छन् । वर्षायामको समयमा पानी पर्दा आफुहरु रातभर जाग्राम बस्नुपर्ने बाध्यता हटेको र घरमा आगो लाग्ने डर पनि नभएको गौमुखी गाउँपालिका अर्खाका शेर बहादुर दमाईको भनाई छ ।लुम्बिनी प्रदेश सरकारले खरको छाना बिस्थापित गर्ने योजना अघि सारेसँगै खरका छाना बिसथापनमा स्थानीय सरकार पनि सक्रिय भएका हुन् ।
प्युठानका ११ हजार ९ सय ४५ विपन्न परिवार मध्ये ८ हजार ७ सय ५२ घर परिवारले करिब ३८ करोड ८० लाख लागतको जस्तापाता पाएका छन् । गाउँपालिकाले वितरण गरेको जस्तापाताले घर सिङ्गारेपछि गाउँ बस्ती नै उज्यालो देखिन थालेको रजवाराका निर्मली सुनार बताउनुहुन्छ ।
नगर तथा गाउँपालिकाले विपन्न परिवारको जस्तापाताको लागि प्रति घर ४० हजार रुपैयाँ लगानी गरेको छ । गौमुखी गाउँपालिकाले खरका छाना बिस्थापित गर्न ५ करोड रुपैयाँ विनियोजन गरेको छ । प्यूठानका नौ स्थानीय मध्ये हालसम्म सबैभन्दा धेरै गौमुखी गाउँपालिकाले १५ सय ८५ विपन्न परिवारको घरमा जस्तापाता लगाएको छ ।स्थानीय तहबाट जस्तापाता पाएपछि विपन्न परिवारका नागरिकले आफ्ना लागि सरकार रहेको महसुस गरेका छन् । उनिहरु निर्वाचनको समयमा जनप्रतिनिधीले गरेका बाचा पूरा भएको बताउँछन् ।