तिलाचन पाण्डे,छड्के न्युज\ गुल्मी -गुल्मी सदरमुकाम तम्घासको मुख्य सडकमै ज्यानमारा खाल्डाहरु हुँदा सम्म मर्मतमा सरोकारवाला कसैको ध्यान जान सकेको छैन् ।जिल्ला प्रशासन कार्यालय अगाडी पछाडी र प्रहरी कार्यालयमा जाने मुख्य सडकमै ठुला ठुला खाडल रहेका छन् । सोही बाटो भएर दिनमा सयौ पटक ओहोर दोहोर गर्ने प्रहरी प्रशासन र नगरपालिका प्रमुखहरु देखेको नदेख्यै गरी आँखा चिम्लेर हिड्ने गरेको पाइएको छ ।
नगरपालिका भित्र सडक ,नाला , पार्क लगायत अन्य पुर्वाधारहरु निर्माण गर्नका लागि सुनिल समिर वान डाइरेक्सन जेभी तम्घासले गत चैत मसान्तसम्म सक्ने गरी कार्तिकमा संघिय आयोजना कार्यन्वय इकाई रुपन्देहीसंग सम्झौता गरेको थियो । कुल ८३ लाखमा ९भ्याट बाहेक० योजना सम्झौता भए पनि कार्य सम्पन्न गर्नुपर्ने अबधि बाहेक चार महिना सकिदा समेत तम्घासका सडकमा ज्यान लिने खाल्डा जस्ताको तस्तै रहेको छ ।
यता रेसुंगा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले निर्माण ब्यबसायीले काम नगर्दा समस्या भएको बताए । निर्माण ब्यबसायीलाई छिटो काम सम्पन्न गर्नका लागि आफूले दबाब दिदैँ आएको उनले दाबी गरे ।सदरमुकाम तम्घासका मुख्य सडककै हालत यस्ता छन् भने गाउँजाने सडकहरुको अबस्था झन दयनिय भएको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताए ।सडक निर्माण तथा मर्मतमा सरोकारवालाहरुले ध्यान नदिएका कारण यस्तो समस्या आएको पाण्डेले बताए । आफूले पटक पटक प्रमुख जिल्ला अधिकारी र सरोकारवालाहरुलाई झक्झक्याउँदा पनि कानमा तेल राखेर बस्ने गरेको पाण्डेले बताए ।
गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले निर्माण ब्यबसायीलाई जतिसक्दो छिटो काम गर्नका लागि ताकेता गरेको दाबी गरिन् । लगातार बर्षा भइरहेका कारण काम हुन नसकेको र बर्षा रोकिए लगत्तै खाल्डा खुल्डी पुर्ने काम गराएरै छाडने शर्माको दाबी छ ।
यता सो निर्माण कार्यका प्रमुख सुनिल पोखरेलले लगातार बर्षा भइराखेका कारणले ओभर ले तथा मर्मत गर्न नसकिएको बताए । बर्षा रोकिएको एक दिनमै काम सम्पन्न गर्ने गरी आफूहरु लागेको उनको दाबी छ ।चैत मसान्त सम्म काम गर्न नसक्नुको कारण के भन्ने प्रश्नमा उनले कोभिडका कारण तोकिएको समयमा काम गर्न नसकिएको बताए ।