लागातार साधारण सेयर जारी भईरहेकै छन् । यसै क्रममा मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका १७ लाख ६४ हजार कित्ता सेयर आईपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले चुक्ता पूँजी ५८ करोड ८० लाख ३६ हजार ९ सय रुपैययाँको ३० प्रतिशत अर्थात् १७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ बराबरको जम्मा १७ लाख ६४ हजार १११ कित्ता शेयर सर्वसाधारणलाई जारी गर्नेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार आईपीओ निष्काशन गर्ने सम्वन्धमा मन्दाकिनी हाइड्रोपावार र बिओके क्यापिटल मार्केट लिमिटेडबीच मंगलबार सम्झौता भएको छ ।
मन्दाकिनी हाइड्रोपावारको तर्फबाट सञ्चालक समितिका अध्यक्ष महेश बहादुर बस्नेत र बिओके क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
साथमा-किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएकाे छ । रु. १६.२२ करोडको एफपीओ जारी गर्ने तयारी गरेको कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लोभलाग्दो वित्तीय विवरण सार्वजनिक गरेको छ।
साेमबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १४ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १८५७.८४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ७६ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
चौथो त्रैमासमा कम्पनीको सञ्चालन मुनाफा पनि ९०.५० प्रतिशत बढाएर १७ करोड रुपैयाँ बढी आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ८ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले ४० करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष संस्थाले ९ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो हिसाबले समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३१३.४२ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा संस्थाले ४ अर्ब ६४ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ८१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले ३ अर्ब १४ करोड रुपैयाँ सापटी लिई ४ अर्ब १० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको रिजर्भको आकार १४८.४९ प्रतिशतले बढेर २४ करोड २५ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १६ करोड ७७ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३७.९५ रुपैयाँ रहेको छ। पीई रेसिया ४५.८५ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६१.६२ रुपैयाँ रहेको छ।
संस्थाले गत असार २९ गते एफपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। संस्थाले १२५ रुपैयाँ अंकित दरका कुल १६ करोड २२ लाख ८२ हजार ४३६.२५ रुपैयाँबराबरको एफपीओ निष्कासनको अनुमति मागेको छ।