तिलाचन पाण्डे\भदौ ४ गुल्मी-जलाधार संरक्षण गर्नका लागि गुल्मीको कालीगण्डकी गाउँपालिका गुल्मीले एक गाउँ एक सुख्खा पोखरी निर्माणको अभियान चलाएको छ ।गाउँमा पानीका मुहानहरु सुक्दै गएको भन्दै जलाधार संरक्षणका लागि सुख्खा पोखरी निर्माण गर्ने अभियान लिइएको गाउँपालिकाले जनाएको छ । सुख्खा पोखरी निर्माण गर्दा पानीका मुहानहरु पनि नसुक्ने र पशुपन्छीहरुका लागि सहज रुपमा पानीको ब्यबस्थाका लागि अभियान संचालन गरिएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए ।
पालिका भित्र उपभोक्ता समितिहरु गठन गरी करिब १५ वटा सुख्खा पोखरीहरु निर्माण गरिएको थापाले जानकारी दिए ।
एउटा पोखरी निर्माण गर्नका लागि करिब चार लाख रुपैयाँ लाग्ने भएकाले गाउँपालिकाले उपभोक्ता समितिको बैंक खातामा बढीमा तीन लाख रुपैयाँ सिधै भुक्तानी गर्ने प्रबन्ध मिलाएको गाउँपालिकाले दाबी गरेको छ ।पछिल्लो समयमा ग्रामीण स्तरमा पानीका मुहानहरु सुक्दै जान थालेको बन जंगलमा रहेका पन्छीहरुका लागि पिउने पानीको पनि ब्यबस्था हुने र जलाधार संरक्षणका लागि पोखरी निर्माण कार्यमा गाउँपालिका लागेको थापाले दाबी गरे ।
यस्तै मोटरबाटो निर्माण गर्दा बन जंगल नमासिने गरी , बन्यजन्तुहरुको बासस्थानमा खलल नपुग्ने गरी पानीका मुहानहरुलाई संरक्षण गर्ने गरी बाटो निर्माण गरिने पनि पालिकाले दाबी गरेको छ ।यस्तै हरेक घरमा एक घर एक करेसाबारीको अभियान पनि गाउँपालिकाले लिएको थापाले जानकारी दिए । हरेक घरमा ताजा र बिषादी प्रयोग नगरिएको तरकारी प्रत्येक घरका भान्सामा रहोस भन्नका लागि गाउँपालिका लागेको बताइएको छ ।गाउँपालिका भित्रका प्रत्येक घरहरुमा करेसाबारी निर्माणका लागि अहिले कार्य गर्न लागिएको गाउँपालिकाले जनाएको छ । समान्य रुपमा मुख धुने र भाडाहरु माझदाको पानीलाई सदुपयोग गरी करेसाबारीका लागि सिञ्चाई समेत गर्न सकिने भएकाले यस्तो अभियान संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।
पालिकाले गाउँपालिका भित्रका प्रत्येक घरमा ताजा तरकारी खान पाउने बनाउनका लागि पहिलो प्राथमिकता दिएको र त्यसका लागि पालिकाले प्राबिधिक ज्ञान , बिउँ बिजन संगै टनेलको पनि ब्यबस्था गरिदिने थापाले जानकारी दिए ।गाउँपालिका भित्रका करिब चार हजार घरधुरीलाई स्वच्छ र ताजा तरकारी खुवाउने आफनो लक्ष्य रहेको र ब्यबसायीक कृषिलाई प्राथमिकता दिएको दाबी गर्दै पालिका भित्र खपत नभएको तरकारीलाई अन्यन्त्र बिक्री बितरण गर्नका लागि पनि पालिकाले ब्यबस्था गर्ने थापाले दाबी गरे ।