भदौं ५ काठमाडौं । कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएको छ । तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको कलाकार हरिवंश आचार्यले जानकारी दिए । थापालाई तीन साता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको हो ।थुप्रै टेलिसिरियल तथा केही चलचित्रमा अभिनय गरेका छन् । मह संचारको ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’लगायतका टेलिसिरियलमा अभिनय गरेका थापाले राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो बिरानो’ चलचित्र निर्माणसमेत गरेका थिए ।पछिल्लो समय प्रशारण हुँदै आएका धेरै टेलिसिरियलमा उनले अभिनय गर्दै आएका थिए ।
‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘गोलमाल’ ‘हल्का रमाइलो’लगायतका टेलिसियिरयलमा उनी अभिनय गर्दै आएका थिए । ‘हल्का रमाइलो’मा काम गरेपछि उनी दर्शकमाझ ‘बखते’ चरित्रले चर्चित थिए ।थापाको निधनप्रति थुप्रै कलाकारहरुले दुस्ख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् । कलाकार हरिवंश आचार्यले भने, ‘उहाँ राम्रो कलाकार हुनुहुन्थ्यो नै, उत्तिकै मिलनसार पनि हुनुहुन्थ्यो ।’थापाको श्रीमती, एक छोरी र एक छोरा छन् । उनको शनिबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । साभार: अनलाइन खबर