काठमाडौं । तपाईँ हामीले जिताएर पठाएर सांसदले जनता वा तपाईँ हाम्रा लागि के कति काम गरे त्यसको लेखाजोखा छैन । केही गरेको भए पो हुन्थ्यो र हैन । न बैठकमा जान्छन् न आफ्ना निर्वाचन क्षेत्रमा गएर मतदाताका गुनासा सुन्छन् तर तलब भत्ता भने नियमित पाइराखेकै छन् । के तपाईँलाई थाहा छ हाम्रा सांसदले कति पाउँछन् तलब भत्ता रु आज हामीले यहाँ त्यसको चर्चा गर्दै छौँ ।
सांसदहरुले मासिक तलब भत्ता एक लाखभन्दा बढी पाउने गरेका छन् । सांसदहरुको मासिक पारिश्रमिक ५५ हजार २ सय ३० रुपैयाँ निर्धारण भएको छ भने दैनिक बैठक भत्ता एक हजार रुपैयाँ बुझ्दै आएका छन् । सबै गरेर सामान्य अवस्था अर्थात बसीबसी सांसदहरूलाई प्रत्येक महिनाको तलबबापत मात्रै ६४ हजार ७० रुपैयाँ जान्छ ।आर्थिक वर्ष ०७६र७७ मा प्रतिनिधिसभा, राष्ट्रिय सभा सदस्य र उनीहरूका पिएहरूको तलबमा ४२ करोड ८० लाख ८५ हजार तीन सय पाँच रुपैयाँ सकिएको छ । हरेक सदस्यले एकजना स्वकीय सचिव ९अधिकृतस्तर० राख्न सक्ने सुविधा कानुनले दिएको छ । त्यस्तै, सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्ष र उनीहरूका सचिवालयसमेतलाई गरेर आव ०७६र७७ मा एक करोड १६ लाख ३९ हजार तीन सय ३० रुपैयाँ सकिएको छ ।
‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ व्यवस्थापिका संसदले तीन वर्ष अघि संशोधनसहित बहुमतले पास गरेपछि सांसदहरुले यति धेरै तलब पाउन थालेका हुन् । सांसदहरुले बढी सुविधा लिन लागेको भन्दै जनस्तरबाट आलोचना भइरहेकै बेला व्यवस्थापिका संसदमा सांसदहरुको तलब भत्ता बढाउने निणर्य गरेको हो ।अझै कतिपय सांसदहरुले चाँहि आफूलाई अहिलेको तलब भत्ताले जीवीकोपार्जन गर्न गाह्रो भइरहेको बताउँदै आएका छन् । अरु त अरु कोरोना महामारीका बेला पनि सांसदहरुले दशैं भत्ता लगायत विभिन्न नाममा राज्य ढुकुटीबाट कुम्ल्याएका हुन् ।
के शीर्षकमा कति पाउँछन् ?
‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ अनुसार सांसदहरुको मासिक पारिश्रमिक मात्र ५५ हजार २ सय ३० रुपैयाँ छ । आवास सुविधा १८ हजार छ भने टेलिफोन तथा पत्रपत्रिका खर्च ३ हजार छ । त्यस्तै धारा बिजुलीको २ हजार, अतिथि सत्कार र विशेष भत्ता मासिक एक(एक हजार पाउनेछन् । यो सबै गर्दा एक जना सांसदले मासिक ८० हजार २ सय ३० लिनेछन् ।
यसबाहेक दैनिक बैठक भत्ता दिनको १ हजार पाउनेछन् । सरकारले ५ सय प्रस्ताव गरेको थियो । तर, प्रमुख दलहरुको सहमतिमा यसलाई संशोधन गरेर एक हजार रुपैयाँ पुर्याइएको छ ।यदि व्यवस्थापिका संसदको बैठकमा महिना १० दिन मात्रै बस्यो भने पनि उनीहरुले १० हजार बैठक भत्ता पाउनेछन् । यस्तै यातायात सुविधा भनेर प्रतिदिन एक हजार पाउनेछन् । माथि भनिएजस्तै १० दिन बैठक बस्यो भने १० हजार नै यातायात भत्ता पाउनेछन् ।
यसबाहेक सांसदहरुको दैनिक भ्रमण भत्ता २५ सय तोकिएको छ । यदि कुनै सांसद महिनामा तीन दिन मात्रै आफ्नो जिल्लारक्षेत्रको भ्रमण जान्छ भनेर मान्ने हो भने उसले भ्रमणभत्ता ७ हजार ५ सय पाउनेछ । यसरी हेर्दा एक सांसदले महिनामा न्युनतम एक लाख ७ हजार ७३० रुपैयाँ बुझ्ने देखिन्छ ।यसबाहेक बार्षिक रुपमा १५ हजार फर्निचर खर्च राज्यले दिनेछ । साथै १० लाखको यात्रा विमासमेत हुनेछ । संघीय संसद्का सांसदलाई विभिन्न बैठकमा उपस्थित भएबापत दिइने भत्तामै एक वर्षमा झन्डै ६ करोड रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष ०७६र७७ मा बैठकभत्ताबापत पाँच करोड ८७ लाख सात हजार रुपैयाँ खर्च भएको संसद् सचिवालयबाट प्राप्त विवरणमा छ ।
त्यसमध्ये सभामुख, अध्यक्ष, उपसभामुख र उपाध्यक्षले बैठकभत्ताबापत तीन लाख २१ हजार रुपैयाँ लिएका छन् । बाँकी पाँच करोड ८३ लाख ८६ हजार रुपैयाँ सांसदले लिएको देखिन्छ । यो भत्ता सदन, समितिलगायतका बैठकमा सहभागी भएबापत दिइएको हो । यसमा पारवहन भत्ता पनि जोडिएको हुन्छ । संघीय संसद् तीन सय ३४ सदस्यीय छ ।सहभागी भएबापत संसद्का हरेक बैठकमा एक हजार बैठक भत्ता र एक हजार पारवहन भत्ता गरी दुई हजार रुपैयाँ दिने कानुनी व्यवस्था छ । संघीय संसद्को कुनै सदन वा समिति वा उपसमिति वा दुवै सदनको संयुक्त बैठकमा भाग लिएबापत प्रत्येक दिनको बैठकका लागि यो रकम उपलब्ध गराइन्छ । संसद् अधिवेशन चलेका वेला होस् या नचलेको, सदन वा समिति, उपसमितिमा उपस्थिति हुँदा पनि प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यहरूले तलबबाहेकै यो रकम लिने गर्छन् ।
त्यस्तै, ०७६र७७ मा सांसदलाई दिइने घरभाडामा १३ करोड ७१ लाख ९२ हजार एक सय ४६ रुपैयाँ खर्च भएको छ । काठमाडौंमा घर नहुने प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यलाई संसद्ले घरभाडा उपलब्ध गराउँदै आएको छ । घरभाडाबापत सांसदलाई दिइने रकम ऐनबाट नै तोकिएको छ ।सरकारले घरको बन्दोबस्त नगरिदिएको सांसदका लागि घरभाडा उपलब्ध गराउने व्यवस्था छ । त्यसअनुसार दुवैै सदनका सदस्यहरूले १८ हजार पाउँछन् । दलको प्रमुख सचेतक, सत्तापक्षको सचेतक र विपक्षी दलको सचेतकले २४ हजार दुई सय ६८ रुपैयाँ पाउँछन् । विपक्षी दलको प्रमुख सचेतक, सत्तापक्षको प्रमुख सचेतक र सभापतिले २५ हजार ६ सय आठ रुपैयाँ पाउँछन् ।
संघीय संसद्का सदस्यको सुविधाका लागि विभिन्न शीर्षकमा रकम छुट्याइन्छ । मासिक तलबबाहेक बैठक भत्ता, पानी तथा बिजुली खर्च, इन्धन खर्च, सवारीसाधन मर्मत खर्च, कार्यक्रम खर्च, अनुगमन, मूल्यांकन खर्च, विदेश भ्रमण खर्च, औषधि खर्चलगायतका शीर्षकमा सांसदहरूले सुविधा पाउँछन् । साभार: फेयर नेपाल