गुल्मी –जिल्ला प्रशासन कार्यालय गुल्मीले आँखामा गम्भिर प्रकृतिको रोग फैलाउने सेतो पुतलीको प्रकोप बढे संगै जिल्ला वासीलाई सर्तक रहन आग्रह गरेको छ ।
प्रशासनले शुक्रबार सुचना जारी गर्दै नेपालका पहाडी भेगका विभिन्न स्थानहरुमा आखाँमा हुने एक प्रकारको डरलाग्दो रोग सापुको प्रकोप बढेको बताउदै जिल्ला वासीलाई सर्तकता अपनाउन आग्रह गरेको हो ।यस पुतलीको प्रकोप बाट आखाँ सम्बन्धी गम्भीर किसिमका रोगहरु फैलने र आँखाको ज्योती समेत गुम्ने खतरा रहेको जानकारी गराउदै जिल्ला वासीलाई सचेत रहन अनुरोध गरेको छ । ग्रामिण क्षेत्रमा सेतो पुतली भनेर चिनिने सो किरा पछिल्लो समय जिल्लाका पश्चिम क्षेत्रका स्थानीय तहमा देखिएको छ ।
यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने चिकित्सक बताउँछन् । विशेषगरी साँझपख बिजुलीबत्तीको वरपर देखिने यो पुतली निकै घातक रहेको छ । यो पुतली शरीरको कुनै भागमा सम्पर्कमा आउनेवित्तिकै उक्त भागमा चिलाउने मात्र नभई यो पुतलीको आगमनको साथै आँखामा एक प्रकारको रोग पनि देखापर्ने गरेको छ । साभार : गुल्मी अपडेट