असार ११,गुल्मी – रेसुङ्गा नगरपालिका गुल्मीको नगरसभा सम्पन्न भएको छ । बैशाख ३० गते सम्पन्न निवाचनबाट निर्वाचित जनप्रतिनिधिद्वारा गठित सभाको प्रथम नगरसभा सम्पन्न भएको छ । नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले आ.व. ०७९/८० को वार्षिक नीति, कार्यक्रम तथा बजेट सभामा पेश गरेका थिए । उक्त सभाले सर्वसम्वतरुपमा वार्षिक निति,कार्यक्रम तथा बजेट पास गरेको थियो ।
यस्तो रेसुङ्गा नगरपालिकाको वार्षिक निति,कार्यक्रम तथा बजेटको पूर्णपाठ
रेसुङ्गा नगरपालिकाको यस गरिमामय नगरसभामा उपस्थित नगरउपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरू, विषयगत समितिका संयोजकज्यूहरू, कार्यपालिकाका सदस्यज्यूहरू, नगरसभाका सम्पूर्ण सदस्यज्यूहरू, नगरपालिका अन्तर्गतका विभिन्न समिति तथा उप–समितिका संयोजक तथा सदस्यज्यूहरू सञ्चारकर्मी मित्रहरू, नगरपालिकाका सम्पूर्ण कर्मचारीहरू तथा उपस्थित महानुभावहरूमा न्यानो अभिवादन प्रकट गर्दछु ।
आदरणीय नगरसभाका सभासदज्यूहरू रेसुङ्गा नगरपलिकाको नगरप्रमुखको हैसियतले यस सम्मानित सभासमक्ष आर्थिक वर्ष ०७९/८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न पाउँदा अत्यन्त गौरवान्वित भएको छु । यस अवसरमा राजनीतिक परिवर्तनका लागि बलिदान गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्वाञ्जलि व्यक्त गर्दछु । राष्ट्रिय–स्वाधीनता, लोकतन्त्र, नागरिक स्वतन्त्रता सामाजिक न्याय, समानता र सम्बृद्धिका लागि संघर्ष गर्नु हुने महान नागरिकप्रति हार्दिक सम्मान प्रकट गर्दछु ।
प्रजातन्त्र प्राप्तिको पटक पटकको संघर्षपछि नेपाली जनताको चाहाना अनुरूप संविधानसभामार्फत् संघीयता सहितको समावेशी लोकतन्त्रमा आधारीत जनप्रतिनिधिमूलक राज्य प्रणाली स्थापना भएको छ । राज्यको पुन: संरचना भै संवैधानिक व्यवस्था बमोजिम तीनै तहका सरकारहरू क्रियाशील रहेका छन् । स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पहिलो स्थानीय सरकारले आफ्नो कार्यकाल सफलापूर्वक सम्पन्न गर्नु भएको छ । उहाँहरू सबैलाई बधाई एवं आभार प्रकट गर्न चाहान्छु ।
स्थानीय तहको दोस्रो निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यस निर्वाचनले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्न एउटा इटा थप गरेको छ । यस पालिकामा हाम्रो नेतृत्वलाई विजयी गराउने सार्वभौम मतदातालाई धन्यवाद ज्ञापन गर्दछु । रेसुङ्गा नगरपालिकाको समृद्धि एवं विकासका लागि हामी हाम्रो नेतृत्वको स्थानीय सरकार कुनैपनि पूर्वाग्रहबाट मुक्त रहने छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४, नगरपालिकाले स्वीकृत गरेका ऐन, कार्यविधि, मापदण्ड तथा नीतिले परिकल्पना गरेका समग्र विकासात्मक तथा प्रशासनिक कार्य सञ्चालन र यसबाट प्राप्त उपलब्धि जनता सामु न्यायोचित एवं सन्तुलितरूपमा पुर्याउन सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधिहरू, नागरिक समाज, कर्मचारीहरू एवं सबै सरोकारबालाहरूबाट सहयोग हुने विश्वास लिएको छु ।
सभासदज्यूहरू, सामाजिक लोकतन्त्र हाम्रो आधार स्तम्भ हो । यसको जगमा आधुनिक, न्यायपूर्ण र सभ्य समाज निर्माण गर्ने हाम्रो ध्येय हो । समाजिक न्यायसहित आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गरी प्रत्येक नागरिकलाई स्वावलम्बी र आत्मनिर्भर बनाउने हाम्रो संकल्प हो । रेसुङ्गाबासी सबै बुवा आमा, दाजु भाई, दिदी बहिनीहरूलाई पर्ने कुनैपनि समस्यामा प्रत्यक्ष भौतिक रूपमा देखिने र भेटिने सरकारले दिने सेवामा हामी कदापि चुक्ने छैनौ अर्थात् जनतालाई सेवा प्रदान गर्ने कार्यमा सदैव तत्पर रहने छौं ।
सभासदज्यूहरू, लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मी अन्तर्गत हाम्रो रेसुङ्गा नगरपालिका पर्दछ । नगरपालिकाकाको क्षेत्रफल ८२.७४ वर्ग कि. मि. रहेको छ । यस नगरपालिकाको पूर्वमा गुल्मीदरवार गाउँपालिका, पश्चिममा धुर्कोट गाउँपालिका र अर्घाखाँची जिल्ला, उत्तरमा ईश्मा गाउँपालिका तथा मुसिकोट नगरपालिका र दक्षिणमा अर्घाखाँची जिल्ला पर्दछन् ।
यस नगरपालिकामा १४ वटा वडा रहेका छन् । रेसुङ्गा नगरपालिका प्राकृतिक रूपमा छल्दी, पनाह र निस्तीजस्ता जल प्रवाहले घेरिएको, धार्मिक रूपमा ऋष्यऋङ्गको तपोभूमि रेसुङ्गास्थित सिद्धस्थान, यज्ञशाला, अर्जुन भगवती, धागिथुम भगवती, तम्घासस्थान भगवती, जोगिथुम भगवतीहरूको पौराणिक शक्तिको महिमा, जैविक रूपमा विविधतायुक्त तथा सामाजिक रूपमा समावेशी र बहुल साँस्कृतिको पालिकाको रूपमा परिचित छ ।
प्राकृतिक सम्पदाले भरिएको यस नगरपालिका कृषिको लागि उपयुक्त जमिन तथा बन जङ्गलको धनी मानिन्छ । यो क्षेत्रमा करिव ४७.४७ प्रतिशत जमिन खेतीपातीको लागि योग्य देखिन्छ । करिव ४१.६३ प्रतिशत जमिन वनजंगलले ओगटेको छ भने १.७१ प्रतिशत जलक्षेत्रले ओगटेको छ । नगरपालिकाको प्रमुख नगदे वालिमा सुन्तला तथा अमिलो जातका फलफूल, खाद्यान्न तथा अन्न बालीहरूमा गहुँ, मकै, हरियो तरकारी, दलहन तेलहनजन्य वाली पर्दछन् ।
रेसुङ्गा नगरपालिकामा विभिन्न जातजाती तथा समुदायको बसोबास रहेको छ । जिल्ला सदरमुकाम भएकोले जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत जिल्लाका प्रमुख कार्यालय यसै नगरपालिकाभित्र रहेका छन् ।बुटवलबाट ११५ कि.मी. पार गरी रेसुङ्गा नगरपालिका पुग्न सकिन्छ ।
रेसुङ्गा नगरपालिकाको वडा नं. १० मा रेसुङ्गा विमानस्थको निर्माण कार्य पूरा भई हवाइ उडानको अबस्थामा पुगेको छ । यसबाट रेसुङ्गा नगरपालिकाको यातायातको पहुँच काठमाण्डौ लगायत अन्य स्थानसम्म हुनेछ ।
सभासदज्यूहरू, अन्तरराष्ट्रिय दिगो विकासका मूल्य मान्यतालाई आत्मसात गर्दै रेसुङ्गा नगरको सुशासन, विकास, बस्तु तथा सेवाको न्यायोचित वितरण हाम्रो नीतिगत प्राथमिकतालाई केन्द्रित गर्दै हामीले पाँच वर्षे आवधिक नगर विकास योजना तर्जुमा गरेका छौ ।
त्यसैको आधार तथा मध्यकालीन खर्च संरचना, विषयगत योजनाहरुसंग तादात्म्य गराउँदै वार्षिक योजना तर्जुमा गरी समन्नुत रेसुङ्गा निर्माण गर्न आगामी आ.व. ०७९/८० को लागि देहायका नीति तथा कार्यक्रम लिइएको कुरा यस गरिमामय नगरसभासमक्ष जानकारी गराउँदछु।
सुशासन तथा संस्थागत विकास तर्फ
१. सेवा प्रवाहमा शीघ्रता ल्याउन प्रमुख प्रशासकीय अधिकृतले नगरप्रमुखसँग र अन्य शाखाप्रमुख तथा कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृतसँग कर्मचारीको स्पष्ट कार्यविवरण र सूचकसहित कार्यसम्पादन सम्झौंता गरी कर्मचारीको कार्य सम्पादनको मासिक मूल्याङ्कनको आधारमा कर्मचारीलाई दण्ड र पुरस्कारको व्यवस्था गरिनेछ ।
२. रेसुङ्गा नगरपालिकाको प्रशासनिक तथा विकासात्मक गतिविधिलाई सुशासनमैत्री बनाउन मध्यकालीन खर्च संरचना, आर्थिक विकास योजनासहितको एकीकृत आवधिक विकास योजना, भौगोलिक सूचना प्रणाली, स्रोतनक्शा सहितको भू-उपयोग योजना, यातायात गुरुयोजना, वातावरण व्यवस्थापन योजना, स्थानीय पूर्वाधार विकास योजना, स्थानीय आर्थिक विकास योजना र सामाजिक विकास योजना निर्माण गरी कार्यान्वयनमा ल्याईनेछ।
३. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तहको विभिन्न कार्यसम्पादन मूल्याङ्कन प्रकृया शुरु गरेको र मूल्याङ्कनका आधारमा अनुदान निकासा गर्ने भएकोले संघ प्रदेश तथा स्थानीय तहका विभिन्न योजना र कार्यक्रमहरूको दिगो विकासको लक्ष्य पछ्याउदै गुणस्तरीय र परिणाममुखी बनाउन कार्यसम्पादनको लागि निरन्तर सहकार्य, समन्वय र सहजीकरण गरी अनुगमनलाई प्रभावकारी बनाउन नगरपालिकाभित्र छुट्टै अनुगमन तथा मूल्याङ्कन शाखा गठन गरी कार्यान्वयनमा ल्याईनेछ।
४. सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन सेवाको मापदण्ड (SOP) तयार गरी कार्यान्वयनमा ल्याईनेछ।
५. नगरपालिकाबाट सञ्चालन हुने विभिन्न कृयाकलापहरूको बारेमा आम नागरिकलाई सुसूचित पारदर्शी र जनउत्तरदायी सरकारको भावना जागृत गराउन “जनतासँग नगरपालिका रेडियो तथा टेलिभिजन कार्यक्रम” सञ्चालन गरिनेछ ।
6 नगरपालिकाको गतिविधिहरूलाई डिजिटल सूचना पाटी, मोबाईल एप्स, सामाजिक सञ्जाल, एस.एम.एस. तथा वेभसाईटमार्फत् सार्वजनिक गरी नागरिकको सूचनाको हकलाई सुनिश्चित गराउदै नगरपालिकाको कार्यलाई पारदर्शी बनाईनेछ ।
७. नगरपालिकाले भ्रष्टचार शून्य सहनशीलताको नीति अवलम्बन गर्दै नागरिकमैत्री सेवा प्रवाहको व्यवस्था गर्दै नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणालीलाई थप व्यवस्थित गरिनेछ ।
८. नगर कार्यपालिकाको कार्यालयबाट सम्पादन गरेका विभिन्न कार्यहरूको प्रगति विवरण सहितको e-bulletin मासिक रूपमा प्रकाशन गर्ने कार्यको शुरुवात गरिनेछ।
९. नगरपालिकाबाट सम्पादित हुने हरेक कार्यहरूमा अधिकतम सूचना प्रविधिको प्रयोग गरी विद्युतीय सुशासनको नीति अवलम्बन गर्दै सेवा प्रवाहलाई सञ्जालीकरण गरिनेछ।
१०. नागरिकमैत्री सेवा प्रवाह सुनिश्चितताको लागि नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरूमा थप भौतिक पूर्वाधार निर्माण गरी विद्युतीय हाजिरीको व्यवस्था गरी डिजिटल अभिलेख राख्ने व्यवस्था मिलाइ सुशासनमैत्री सेवा प्रवाहमा जोड दिईनेछ।
११. “सञ्चारकर्मीसँग नगरपालिका” कार्यक्रम सञ्चालन गर्दै नगरपालिकाको बृहत्तर हितको लागि योगदान पुयाउनु भएका पत्रकारहरूको उच्च मनोबल राख्न आवश्यक व्यवस्था मिलाईनेछ।
१२. नगरपालिकालाई आवश्यक पर्ने जनशक्तिको लागि संगठनात्मक संरचना (O&M) गरी कर्मचारीको कार्यविवरण उपलब्ध गराइनेछ।
१३. जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता विकास गर्न “क्षमता विकास योजना” निर्माण गरी कार्यान्वयनमा लिइनेछ।
१४. नगरपालिकामा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान तथा सहुलियत गर्ने कार्यक्रम अगाडि बढाईनेछ ।
१५. नगरपालिकाको वास्तविक वस्तुस्थितिको आधारमा योजना तथा कार्यक्रम तर्जुमा गर्न नगरपालिकाको डिजिटल प्रोफाइल निर्माण गरिने छ।
१६. शान्ति सुरक्षालाई मध्ये नजरगरी तम्घासका मुख्य मुख्य नाकाहरूमा सि.सि. टि.भीं. जडान गरिनेछ साथै नगरका मुख्य तथा पर्यटकीय क्षेत्रमा निःशुल्क वाइफाइ (Wi-Fi) को व्यवस्था मिलाउन शुरुवात गरिनेछ।
१७. जनसरोकारसंग सम्बन्धित महत्वपूर्ण सूचना तथा जानकारीहरू नगरभित्रका प्रत्येक घरपरिवारका घरमूलीहरूको मोबाईलमा SMS मार्फत् पठाईनेछ।
१८. नगरपालिकाबाट सम्पादन हुने कामहरूलाई थप प्रभावकारी बनाउन आवश्यक विषयगत र क्षेत्रगत कोषहरू स्थापना गरी कोषहरू सञ्चालनका लागि कार्यविधि, निर्देशिका बनाई लागु गरिनेछ ।
१९. जनप्रतिनिधि कर्मचारी, तथा उपभोक्ताहरूलाई अन्य स्थानीय तहको अनुकरणीय कार्य हेर्न अवलोकन भ्रमण आयोजना गरिनेछ ।
२०. नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा ल्याउन कार्ययोजना बनाई लागु गरिनेछ ।
२१. वित्तीय पारदर्शीता, उत्तरदायित्व र वित्तीय अनुशासनका लागि सामाजिक लेखा परीक्षण, सार्वजनिक सुनुवाई अनिवार्य गरिनेछ भने उपभोक्ता/लाभग्राही समूहलाई सो सम्बन्धमा अनुशिक्षणको व्यवस्था गरिनेछ ।
२२. नगरपालिकाको प्रशासनिक र विकासात्मक गतिविधिलाई प्रविधिमैत्री बनाई स्मार्टसिटीको अवधारणालाई क्रमश: अवलम्बन गरिनेछ ।
२३. विकास निर्माणमा सुशासन कायम गर्न लागत सहभागिताको नीतिलाई अवलम्बन गरिनेछ ।
२४. न्यायिक कर्यसम्पादनलाई प्रभावकारी तथा मेलमिलापमैत्री बनाउन वडास्तरमा भएका मेलमिलाप केन्द्रलाई व्यवस्थित गरी न्यायिक सचेतना कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
२५. समग्र पक्षमा सुशासन कायम गर्न नागरिक समाजको भूमिकालाई प्रभावकारी बनाइनेछ ।
२६. जनप्रतिनिधि र कर्मचारीको आचारसंहिता निर्माण गरी लागु गरिनेछ।
२७ नागरिकहरूको गुनासो तथा सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन गुनासो सुन्ने संयन्त्रलाई प्रभावकारी बनाइनेछ।
२८. नगरपालिकाभित्र जन्म र मृत्युको दर्ता प्रमाणपत्र घर-घरमा वितरण गर्ने व्यवस्था मिलाईनेछ।
२९. प्रशासनिक तथा विकासात्मक गतिविधिलाई नागरिकमैत्री, सुशासनमैत्री र गुणस्तरीय बनाउन अनुगमन प्रणालीलाई थप व्यवस्थित गरिनेछ। अन्तरसरकार अन्तरपालिकाबाट हुने विकास निर्माणको गुणस्तर कायम गर्न संयुक्त अनुगमन तथा तेस्रो पक्ष अनुगमनको संस्थागत विकास गरी कार्यान्वयनमा ल्याईनेछ।
३०. निर्माण व्यवसायी तथा उपभोक्ता समितिबाट हुने निर्माण कार्यहरू समयमा गुणस्तरीय रूपमा कार्य सम्पादन गर्न उत्प्रेरित गरिनेछ। शर्त बमोजम कार्यसम्पादन नगर्ने उपभोक्ता समिति र निर्माण व्यवसायीलाई कानून बमोजिम हुने दण्डात्मक व्यवस्थालाई कार्यान्वयन गरिनेछ।
३१. नगरपालिकाभित्र रहेका शिक्षित युवा-युवतीहरूलाई देशको प्रशासनिक सेवामा प्रवेश गर्न उत्प्रेरित गर्दै सेवा प्रवेशका लागि आवश्यकताको आधारमा लोक सेवा आयोगको पाठ्यक्रम अनुसार तयारी कक्षा सञ्चालन गर्ने नीति लिईनेछ।
३२. नागरिकको भूमिमाथिको पहुँच सुनिश्चित गर्दै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित वसोवासीहरुको लागि भूमि आयोगको समन्वयमा जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराईने नीति अवलम्बन गरिनेछ।
३३. जनताको माग, आवश्यकता र औचित्यको आधारमा ब्रुमर, एम्बुलेन्स तथा सववाहनजस्ता उपकरणहरु खरिद गरी सेवाको दायरालाई फराकिलो बनाउने नीति लिइनेछ ।
३४. “जनतासंग मेयर कार्यक्रम” सञ्चालन गरी नगरपालिकाका सबै वडाहरूमा पुगी नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण लगायतका विषयहरूमा जनतासंग साक्षताकार कार्यक्रम गरिनेछ ।
सामाजिक विकास तर्फ
३५. रेसुङ्गा बहुमुखी क्याम्पसलाई मध्यपहाडी क्षेत्रकै शैक्षिक केन्द्रको रूपमा विकास गर्न नगरका कार्यक्रमहरूमध्ये सबैभन्दा उच्च प्राथमिकता दिइनेछ ।
३६. “जेष्ठ नागरिकसँग नगरपालिका” कार्यक्रम अन्तर्गत नगरपालिकाका जेष्ठ नागरिक र एकल आमाहरूलाई सम्मान गर्दै निःशुल्क औषधि वितरण तथा स्वास्थ्य परीक्षण गरिनेछ।
३७. विपन्न घरपरिवार पहिचान गरी प्राथमिकताको आधारमा निःशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रम अभियानको रूपमा सञ्चालन गरिनेछ ।
३८. आमाको गर्भ सुरक्षित हुदाँ एउटा युग सुरक्षित हुन्छ भन्ने नारालाई साकार पार्न “आमासँग नगरपालिका” कार्यक्रम अन्तर्गत मातृशिशु सेवा, सरसफाई तथा पोषण-भत्ता एकीकृत गरी “पोषणमैत्री नगरपालिका” घोषणा गर्न पहल गरिनेछ।
३९. गर्भवती महिलालाई सुत्करी सेवा लिनको लागि एकोहोरो यातायात प्रबन्ध मिलाईनेछ ।
४०. “गुल्मी अस्पताल, मेरो अस्पताल” भन्ने मूल नाराकासाथ गुल्मी जिल्ला अस्पतालमा मृगौला रोगीको लागि डाईलोसिस सेवा प्रदान गर्न प्रविधि हस्तान्तरण गरी डाईलोसिस सेवा सञ्चालनको व्यवस्था मिलाईनेछ।
४१. आयुर्वेद स्वास्थ्य केन्द्रको सेवालाई सहज र प्रभावकारी बनाइनेछ।
४२. नगरभित्र रहेका निजी क्लीनिक तथा अस्पतालहरूबाट स्वास्थ्य सेवामा एकरूपता लयाउन पहल गरिनेछ।
४३. शारीरिक रूपमा अशक्त र ७० वर्षभन्दा माथिका नगरबासीहरूको घरमै पुगी आवधिक रूपमा नियमित स्वास्थ्य परीक्षण, परामर्श र आधारभूत स्वास्थ्य सेवा प्रवाहको व्यवस्था गरिनेछ ।
४४. आधारभूत स्वास्थ्य केन्द्रमा आवश्यकता अनुसार वर्थिङ्ग सेण्टर सञ्चालन गर्न पहल गरिनेछ।
४५. योग, प्राकृतिक चिकित्सा केन्द्रको स्थापनाका लागि आवश्यक पहल गरिनेछ ।
४६. विद्यमान आँखा उपचार केन्द्रलाई सुविधा सम्पन्न आँखा अस्पतालका रूपमा स्तरोन्नतिका लागि आवश्यक पहल गरिनेछ र रेसुङ्गा नगरपालिकाभित्रका नागरिकलाई मोतिया बिन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाईनेछ।
४७. विद्यार्थीहरूलाई सुशासन, सेवा-प्रवाह, भष्टचार निवारण, उपभोक्ता हक र खाद्य सुरक्षा, साईबर अपराध, घरेलु हिंसा, स्वास्थ्य तथा नैतिक शिक्षा लगायतका विषयमा अनुशिक्षण गर्न “विद्यार्थीसँग नगरपालिका” कार्यक्रम गरिनेछ।
४८. रेसुङ्गा नगरपालिकाबाट निर्माण भएको “हाम्रो रेसुङ्गा” नामक कक्षा १-८ को स्थानीय पाठ्यक्रमको पूर्ण कार्यान्वयनमा आवश्यक सहजताको लागि उक्त पाठ्यक्रममा उल्लेख भएका विषयवस्तु समेटेर पाठ्यसामाग्रीहरू निर्माण गरिनेछ।
४९. विद्यालय दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित गराईनेछ।
५०. नगरपालिकाभित्र सञ्चालित प्राविधिक तथा व्यवसायिक धारका विद्यालयहरूमा विद्यार्थीहरूलाई आकर्षित गर्न विशेष पहल गरिने र उक्त विद्यालयहरुलाई व्यवस्थित गर्न आवश्यक सहयोग गरिनेछ।
५१. नगरपालिकाभित्र अनुमति प्राप्त गरी सञ्चालन भएका तहगत रूपमा शून्य दरबन्दी भएका सामुदायिक विद्यालयहरूमा नगरपालिकाबाट दरबन्दी सिर्जना गरी वितरण गर्न पहल गरिनेछ।
५२. सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि कार्यविधि बनाई शिक्षक दरबन्दी मिलान, विद्यालयहरू समायोजनजस्ता कार्यहरूलाई निरन्तरता दिई पालिकास्तरीय उत्कृष्ट विद्यालय छनौट गरी पुरस्कृत गरिनेछ।
५३. किरण पुस्तकालयलाई शैक्षिक, भाषिक,साहित्यिक अनुसन्धान केन्द्रको रूपमा विकास गरिनेछ ।
५४. अगुवा विद्यालय कार्यक्रम अन्तर्गत उपयुक्त कार्यविधि निर्माण गरी कार्यान्वयन गरिनेछ।
५५.शैक्षिक गुणस्तर सुधारको लागि विद्यालयको व्यवस्थापन पक्षलाई सुव्यवस्थित बनाउन र शिक्षण सिकाइमा ICT को प्रयोगलाई प्रोत्साहन गर्न शिक्षकलाई सूचना प्रविधिसम्बन्धी क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरी आधुनिक प्रविधिको प्रयोग गर्ने कार्यलाई उच्च प्राथमिकता दिईनेछ ।
५६. समग्र विद्यालयको गुणस्तर सुधारको लागि नगरपालिकासंग प्रधानाध्यापक र प्रधानाध्यापकसंग शिक्षकहरूको कार्यसम्पादनको सम्झौता गरिनेछ साथै कार्यसम्पादन मूल्याङ्कनको आधारमा अन्तर विद्यालय स्थानान्तरण गर्ने नीति लिईनेछ।
५७. नगरपालिकाको शैक्षिक गुणस्तर सुधार गर्नको लागि एक वडा एक व्यवस्थित विद्यालयको नीति अवलम्बन गर्दै विद्यालयहरूलाई मर्ज गर्न आवश्यक नीति लिईनेछ।
५८. प्रत्येक विद्यालयमा सिकाइ गुणस्तर वृद्धिको लागि प्रधानाध्यापकहरूलाई समेत अन्तर विद्यालय सामुहिक अनुगमनको व्यवस्था मिलाई विद्यालयको शैक्षिक व्यवस्थापनमा जिम्मेवारी र जवाफदेही बनाइनेछ।
५९. विद्यालयलाई प्रविधिमैत्री बनाउन इन्टरनेट जडान लगायतका कार्यलाई उच्च प्राथमिकता दिईनेछ ।
६०. विद्यार्थी भर्ना कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गरिनेछ।
६१. विद्यालयका छात्राहरूलाई निःशुल्क सेनिटरीप्याड वितरण गर्ने कार्यलाई निरन्तरता दिईनेछ।
६२. “दलबहादुर राना स्मृति कोष” स्थापना गरी खेलकुद प्रतिभाहरू विकास गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका प्रशिक्षकहरूबाट भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टनजस्ता स्थानीयस्तरमा लोकप्रिय खेलकूदहरूका विशेष क्याम्पहरू सञ्चालन गरी उच्चस्तरको प्रशिक्षणको व्यवस्था मिलाइनेछ ।
६३. नगरपालिकामा “मेयरकप खेलकुद” प्रतियोगिता सञ्चालन गरिनेछ।
६४. बालमैत्री स्थानीय शासनको अवधारणालाई क्रमश: कार्यान्वयन गर्दै “बालबालिकासंग नगरपालिका कार्यक्रम” सञ्चालन गरिनेछ।
६५. विद्यार्थी यातायात कार्यक्रम अन्तर्गत आवश्यकताको आधारमा आ.व. 079/80 मा २ वटा विद्यालयमा स्कूल बस उपलब्ध गराउने र क्रमशः अन्य विद्यालयहरुमा पनि यो कार्यक्रम सञ्चालनका लागि आवश्यक पहल गरिनेछ ।
६६. नगरपालिकाभित्र रहेको धार्मिकस्थलको महिमा जनसाधारणलाई सूचित गराउन र धार्मिक पर्यटनलाई बढवा दिन रेसुङ्गा क्षेत्रमा वैदिक सम्मेलन गरिनेछ र रेसुङ्गा क्षेत्रमा वैदिक पाठशाला निर्माण गर्न पहल गरिनेछ ।
६७. गरिबीको रेखामुनि रहेका समुदायको उत्थानका लागि वर्ग लक्षित विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
६८. अभिभावक विहीन (बन्दी अभिभावकसमेतका) बालबालिकाको उचित व्यवस्थापन गरिनेछ ।
६९. विद्यालयमा कार्यरत विद्यालय सहायक (लेखा), विद्यालय सहयोगी कर्मचारी, बालबिकास केन्द्रका सहजकर्ताहरूको पारिश्रमिक थप गरी प्रोत्साहित गरिनुका साथै प्रधानाध्यापकहरूको मासिक भत्ता थप गरी कार्यसम्पादनमा सबलीकरण गरिनेछ।
७०. शिक्षा क्षेत्रका ख्यातिप्राप्त विज्ञहरूको समुपस्थितिमा एउटा बृहत शैक्षिक सम्मेलन आयोजना गरी उक्त शैक्षिक सम्मेलनबाट प्राप्त निष्कर्ष अनुसारका गतिविधि सञ्चालन गरी शैक्षिक गुणस्तर अभिवृद्धि अभियान थालनी गर्न शैक्षिक विकास योजना निर्माण गरी कार्यान्वयन गरिनेछ।
७१. वार्षिक बजेट निर्माण गर्दा सामाजिक विकास, पूर्वाधार, कृषि, वन तथा भूमिसुधार, गरिबी निवारण, स्थानीय विकास तथा शान्ति एवं सुशासनसँग सम्बन्धित सबैक्षेत्रको बजेटलाई लैङ्गिक उत्तरदायी बनाईनेछ।
७२. हरेक वर्ष लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणमा औल्याइएका कमी कमजोरीलाई अर्को वर्षको कार्यक्रममा समेटेर, स्रोत साधनमा लक्षित वर्गको पहुँच अभिवृद्धि गर्दै लगिनेछ ।
७३. सामाजिक कुरीति, अन्धविश्वास हटाउन ”बालविवाह, बहुविवाह तथा छुवाछुतमुक्त नगरपालिका” घोषणा गरी सामाजिक कुरीतिको अन्त्य गरिनेछ साथै दलित सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गरिनेछ।
७४. पालिकाले निर्माण गरेका सबै कानून, नीति नियम, निर्देशिका कार्यविधिहरू महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता, ज्येष्ठनागरिक, दलित लोपोन्मुख सीमान्तकृत, आदिवासी जनजातिसहित समग्र लक्षित वर्गमैत्री बनाउदै लगिनेछ।
७५. आधुनिक प्रविधिमैत्री ज्ञान र सीपसंग आबद्ध नभएका साथै सेवा अवधि पुगेका शिक्षकहरूलाई स्वेच्छिक अवकाशका लागि प्रोत्साहित गरिनेछ।
७६. रेसुङ्गा नगरपालिकाभित्र रहेका महिलाहरूको हकहित संरक्षण लगायतका क्रियाकलापमा अर्थपूर्ण सहभागिता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
७७. नगरक्षेत्रभित्र रहेका बालबालिकाहरूको क्षमता अभिवृद्धिका लागि नगर बालसञ्जाल तथा बालक्लवहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन साथै बालमैत्री वडा तथा बालमैत्री नगर स्थानीय शासन घोषणा गरिनेछ ।
७८. नगरक्षेत्रभित्र रहेका बालश्रमिक तथा सडक बालबालिकाको उचित व्यवस्थापन गरिनेछ ।
७९. विपदमा परेका बालबालिकाहरूको संरक्षण र बालअधिकार प्रर्बद्धनका लागि नगरपालिकामा बाल उद्धार कोष स्थापना गरी निरन्तरता दिइनेछ ।
८०. लैंगिक हिंसा निवारण समिति मार्फत् नगरपालिकको लैंगिक हिंसा निवारण कोषको परिचालन गरी पीडित वर्गलाई उत्थान गरिनेछ ।
८१. नगरक्षेत्रभित्र रहेका ज्येष्ठ नागरिक र अपाङ्गता वर्गलाई परिचयपत्र वितरण कार्यक्रमलाई निरन्तरता दिइने छ, साथै सहयोग कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
८२. अपाङ्गता भएका “ग” र “घ” वर्गको परीचय पत्र प्राप्त अपाङ्गहरूलाई सम्बोधन गर्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ।
८३. नगरपालिकाभित्र रहेका किशोरकिशोरीहरूका लागि आफ्नो रक्षा आफै गर्ने गरी हिंसारहित समाज निर्माण गर्ने सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछ।
८४. धार्मिक सांस्कृतिक तथा विद्यालयक्षेत्रभित्र मदिरा तथा सूर्तिजन्य पदार्थ विक्री वितरण गर्ने कार्यलाई रोक्न पहल गरिनेछ।
८५. साविकको महिला तथा बालबालिका कार्यालयबाट गठन गरिएका महिला समिति, सहकारी संस्थाहरूको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ।
८६. आदिवासी जनजाति, दलित, अशक्त तथा विपन्न समुदायलाई लक्षित गरी उनीहरूको उत्थानमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिने छ ।
८७. नगरपालिका अन्तर्गतका योजनाहरूमा लैंगिक बाल तथा अपाङ्गमैत्री संरचना बनाउनका लागि आवश्यक पहल गरिनेछ ।
८८. नगरपालिकाभित्र मुटु, मृगौला र क्यान्सर पीडितलाई नेपाल सरकारले उपलब्ध गराउने आर्थिक सहायतामा थप रकम सहयोग गर्ने नीति लिइनेछ। साथै उक्त रोगहरूको रोकथाम तथा नियन्त्रणको लागि तत्सम्बन्धी सचेचना अभिवृद्धि र बृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिनेछ
८९. समावेशी विकासको अवधारणालाई मूर्तरूप दिन मागमा आधारित विकास (Right Based Approach) लाई अवलम्बन गरिने, साथै महिला उद्यमशीलता र सीपविकास कार्यक्रम लक्षित समूहको मागका आधारमा सञ्चालन गरिनेछ ।
९०. नगरपालिकाको समग्र सामाजिक विकासको लागि सामाजिक विकास योजना निर्माण गरी कार्यान्वयन गरिनेछ।
९१ “क्षयरोगमुक्त नेपाल २०३५” को लक्ष्य हासिल गर्न यस रेसुङ्गा नगरपालिका अन्तर्गत प्रत्येक वडामा रहेका जोखिम तथा पहुँचमा कमी भएकाक्षेत्र निर्धारण गरी प्रत्येक ३/३ महिनामा सकृय क्षयरोग खोजपडताल (खकार जाँच) तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी क्षयरोगमुक्त नगरपालिका घोषणा गरिनेछ ।
९२. उच्च रक्तचाप र मधुमेहका रोगीहरूलाई नगरपालिकाबाट प्रदान गरिएको नि:शुल्क औषधि वितरण कार्यलाई निरन्तरता दिईनेछ।
९३. पूर्ण खोप कार्यक्रमलाई निरन्तरता दिईनेछ।
९४. आधारभूत स्वास्थ्य सेवा उपभोग तथा पँहुचमा वृद्धि गराउन समुदायमा स्वास्थ्य शिक्षा प्रर्वद्धन साथै स्वास्थ्य-आमा समूह पुनर्जागरण कार्यक्रम सञ्चालन गरिनेछ।
९५. घरघरमा स्वास्थ्य सेवा भन्ने मूल नाराका साथ स्वास्थ्यकर्मीयुक्त एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस्था गरिनेछ ।
९६. कुनै पनि समयमा फैलिन सक्ने रोग, प्रकोप र विपद् व्यवस्थापनको तत्कालै सम्बोधन गर्नका लागि नगरस्तरीय RRT (रेपिड रेस्पोन्स टिम) र वडास्तरीय RRT स्थापना गरी आवश्यक पर्ने औषधिको प्रवन्धसहित तयारी अवस्थामा रहनेछ ।
९७. कुनै पनि महामारीको समयमा औषधि, उपकरण तथा सुरक्षा सामाग्री व्यवस्था गरी सबै स्वास्थ्यकर्मीहरूलाई उच्च मनोबलकासाथ जनताको सेवा गर्ने वातावरण मिलाइनेछ ।
९८ “स्वस्थ आमा स्वस्थ शिशु” कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मी द्वारा घरघरमा गई आमा तथा नवजात शिशुको स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
९९. स्वस्थ आमा समूह सुदृढीकरणका लागि बजेट व्यवस्थापन तथा नियमित बैठकको लागि खाजाखर्चको व्यवस्था गरिनेछ ।
१००. जीवनशैलीमा आधारीत नसर्ने रोग नियन्त्रणका लागि प्रत्येक वडामा समुदाय स्वास्थ्य प्रवर्धन सेवामार्फत् जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ ।
१०१. सबै स्वास्थ्य संस्थाहरूबाट हरेक ३/३ महिनामा Deep Stick द्धारा मृगौला तथा मधुमेह रोगको प्रारम्भिक चेकजाँच गरिनेछ ।
१०२. पचास वर्ष उमेर वा निरन्तर १२ वर्ष सेवा वा विभिन्न कारणबाट सेवामा रहिरहन नसक्ने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मानजनक विदाईका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
१०३. महिला समुदायिक स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई पुनर्ताजगी तालिम तथा अन्य सामाग्रीहरू प्रदान गरिनेछ ।
१०४. गर्भवत्ती महिलालाई प्रदान गरीदै आएको आइरन, फोलिक एसीड चक्कीबाहेक थप क्याल्सीयम चक्की गर्भवत्ती तथा सुत्केरी अवस्था अवधिभर प्रदान गरिनेछ ।
१०५. सुरक्षित मातृत्व कार्यक्रमका सूचकाङ्कहरूमा उच्चतम सुधार ल्याउन समुदायस्तरमा सुनौलो १००० दिन भित्रका आमाहरूको सेवा उपभोगको मूल्याङ्कन गर्ने व्यवस्था गरिनेछ ।
१०६. नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पक्षलाई सुधार गर्न स्वास्थ्य संस्थालाई आवश्यक अनुदान रकम प्रदान गरिनेछ ।
१०७. लागु औषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना अनुसार लागु औषध नियन्त्रण र रोकथामसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
१०८. नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिले संभावित जोखिम क्षेत्र पहिचान गरी नगरभित्र क्रियाशील सरकारी तथा गैरसरकारी संघ संस्थाको समन्वयमा किशोर-किशोरी, सुनौलो हजार दिनका आमाहरू र बालबालिकालाई MUAC Screening सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
१०९. योग शिक्षा तथा प्राकृतिक चिकित्सालाई अभियानको रूपमा अगाडि बढाइनेछ ।
११०. समग्र नागरिकहरूको जनस्वास्थ्यको समस्या समाधान गर्नको लागि स्थानीय जनस्वास्थ्य ऐन स्वीकृत गरी कार्यान्वयनमा ल्याईनेछ।
१११. आधारभूत स्वास्थ्य केन्द्रहरूमा आवश्यकताका आधारमा बर्थिङ्ग सेण्टर सञ्चालन गरिनेछ। नगरपालिकालाई No Home delivery घोषणा गर्न आवश्यक व्यवस्था मिलाईनेछ।
११२. नगरपालिकाभित्रका धार्मिक साँस्कृतिक, प्राकृतिक, मानवीय र आर्थिक सम्पदाको सदुपयोग गर्दै सीप विकास, उद्यमशीलताको माध्यमबाट प्रतिभापलायन तथा पूँजीपलायन रोकी स्थानीय रोजगारी सिर्जना गर्दै बसाइसराइ न्यूनीकरण गर्ने नीति लिइनेछ ।
आर्थिक विकास तर्फ
११३. प्राकृतिक प्रकोपबाट कृषकहरूको बालीमा क्षति भएमा प्राविधिक मूल्याङ्कनको आधारमा राहत तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिनेछ ।
११४. नगरपालिकाभित्रका कृषकहरूको विवरण सङ्कलन गर्नको लागि कृषक दर्ता व्यवस्थापन कार्यक्रम अभियानको रूपमा सञ्चालन गरिनेछ।
११५. “कृषकसँग नगरपालिका” कार्यक्रम सञ्चालन गरिनेछ।
११६. उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकलाई सम्मान गरिनेछ।
११७. कृषि तथा पशुसेवामा नविनतम् प्रविधिको प्रयोग, बीमा, अनुदानको व्यवस्था र क्षेत्रबिस्तार एवं विविधीकरण गरी भोक, रोग उन्मूलन सम्बन्धी परियोजना लागु गरिनेछ ।
११८. गरिबी उन्मुलन, रोजगारी अभिवृद्धिका लागि करार खेती, बाँझो जग्गा सदुपयोगसम्बन्धी नीति ल्याइनेछ र सोबाट सबैलाई स्वरोजगार हुने व्यवस्था मिलाइनेछ । साथै भूमि बैंकको अवधारणालाई कार्यान्वयनमा ल्याउन पहल गरिने छ ।
११९. नगरपालिकाभित्र गरिबीको पहिचान तथा गणना गरी परिचयपत्र वितरण कार्यक्रम शुरु गरिनेछ।
१२०. नगरपालिकालाई कृषि तथा पशुपालनको क्षेत्रमा स्तरवृद्धि गर्न नगरपालिकाभित्रका सम्भाव्य क्षेत्रहरूको पहिचान गरी कृषि तथा पशु उत्पादन पेकटक्षेत्र तोकी नमूना कृषि र पशु फार्मको स्थापना र सञ्चालन गरिनेछ ।
१२१. कृषि, पशु तथा जडीबूटीजन्य उत्पादन तथा प्रशोधन जस्ता व्यवसायिक आयमूलक कार्यक्रमहरू गैरसरकारी संस्था र निजीक्षेत्रको साझेदारीमा सञ्चालन गरिनेछ ।
१२२. तम्घास चारीखोलास्थित कृषि तथा पशु सङ्गलन केन्द्रलाई थप प्रभावकारी बनाउन अन्तरपालिका, सहकारी र निजी क्षेत्रको साझेदारीमा कृषकहरूबाट उत्पादित सामग्री खरिद-विक्रीको सुनिश्चितता गरी सञ्चालनमा ल्याईनेछ।
१२३. कृषि तथा पशुजन्य साना उद्योगहरूलाई प्रबर्धनका लागि तत्सम्बन्धी वस्तुहरूको जिल्ला बाहिरबाट आयात न्यूनीकरण गरिनेछ ।
१२४. “स्वस्थ जीवन करेसाबारी जैविक खेती हरियो तरकारी” भन्ने अभियानका साथ एक-घर एक- करेसाबारी / कौशी खेती कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ।
१२५. जैविक विविधताको संरक्षण र सदुपयोग गर्दै जलवायु परिवर्तन अनुकुलन प्रविधिहरूको विकास गरी प्राङ्गारिक कृषिजन्य उत्पादनलाई प्रोत्साहन गरिने छ ।
१२६. कृषि उत्पादन वृद्धि गर्न माटो परीक्षण कार्य गरिनेछ । साथै जलवायु अनुकूलन हुने गरी नगदेवालीको उत्पादन गर्ने र उत्पादित वस्तुलाई बजारीकरण गर्ने किसान तथा कृषक समूहलाई प्रोत्साहन गर्ने कार्य अवलम्बन गरिनेछ ।
१२७. पशुपक्षी उपचार सेवा, प्राकृतिक तथा कृत्रिम गर्भाधान सेवा, पशुपक्षी उन्नत आहारा कार्यक्रम पशुरोग नियन्त्रण कार्यक्रम रेविज रोग तथा भ्याक्सिनेशन सेवा सञ्चालन गरिनेछ।
१२८. स्थानीय कला, ज्ञान, सीप र प्रविधिको समुचित प्रयोग गरी नगरपालिकाको पहिचान झल्किने वस्तुहरूको उत्पादन, वजारीकरण गरिने छ।त्यस्ता घरेलु तथा साना उद्योगहरूलाई प्रमाणीकरणको आधारमा अनुदानको व्यवस्था गरिनेछ ।
१२९. युवा स्वरोजगार कार्यक्रमलाई व्यवस्थित र थप प्रभावकारी बनाउदै लगिने छ साथै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउँदै लगिनेछ ।
१३०. “मेयरसंग रोजगार कार्यक्रम” अन्तर्गत एक घर एक रोजगार कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा दिइनेछ ।
१३१. सहकारी संस्थाहरूको गुणस्तर क्षमता र व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन एकीकरण कार्यक्रम अवलम्बन गरिने तथा सहाकारीग्रामको स्थापना गरी नमूना कार्यक्रम सञ्चालन गरिनेछ।
१३२. रेसुङ्गा नगरपालिकाको समग्र आर्थिक विकासको लागि पर्यटन, कृषि, पशु, लघुउद्योग सञ्चालन गर्नका लागि सीप विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
१३३. कृषि पशु तथा अन्य कार्यक्रममा अनुदान अन्तर्गत संघ र प्रदेशको मापदण्डलाई मध्यनजर गरि आन्तरिक कार्यविधि बनाई लागु गरिनेछ ।
१३४. लघु उद्यम कार्यक्रम मार्फत् रोजगारी सिर्जना गरी यसको प्रवर्धन गरिनेछ ।
१३५. रेसुङ्गा नगरपालिका क्षेत्रमा गाइभैसी पालक कृषकलाई प्रोत्साहन गर्न कृत्रिम गर्भाधान AI कार्यक्रम निःशुल्क गराइनेछ साथै स्थानीय स्तरका प्राविधिकलाई AI तालिम प्रदान गरिनेछ।
१३६. बाँदर आतङ्क नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायसंग आवश्यक छलफल गरी नियन्त्रणका उपाय गरिनेछ ।
१३७. पशु चौपायहरू तथा कृषि व्यवसायलाई प्रोत्साहन गर्न बीमाको व्यवस्था गरिनेछ।
१३८. व्यवसायिकरूपले कृषि तथा पशुपालन गर्ने कृषकहरूलाई प्रोत्साहन गरी रेसुङ्गा नगरलाई दूध, अण्डा, मासुमा आत्मनिर्भर बनाइनेछ ।
१३९. कृषि, पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न एक वडा एक प्राविधिक नियुक्तिका लागि आवश्यक पहल गरिनेछ ।
१४०. युवा रोजगारीका लागि विभिन्न प्रकारका तालिम, गोष्ठिका साथै विभिन्न प्रकारका प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
१४१. कृषि उत्पादनलाई प्रोत्साहन गर्न किसानहरूकै स्वामित्वमा प्रशोधन/प्याकेजिङ/चिस्यान /कोल्डस्टोरेजजस्ता प्रविधि भित्र्याउन आवश्यक पहल गरिनेछ ।
१४२. नगरपालिकाभित्रका सबै वडामा पशुपंक्षीको वार्षिक रूपमा शिविर सञ्चालन गरिनेछ |
१४३. नगरपालिकाभित्र कृषिलाई प्रमुख प्राथमिकतामा राख्दै औद्योगिक ग्रामको स्थापना गरिनेछ।
१४४. आर्थिक सामाजिक रूपमा विपन्न वर्गको विकासका लागि सीप विकास/स्वरोजगारमूलक कार्यक्रमको व्यवस्था गरिनेछ।
१४५. वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिनेछ।
१४६. कृषिसंग सम्बन्धित लघु तथा घरेलु साना उद्योग बिस्तार गरिनेछ।
१४७. उत्पादनमूलक महिला उद्यमी/उद्यमी/कृषि सहकारीलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गरिनेछ।
१४८. परम्परागत हस्तकला उद्योग स्थापना/संरक्षण गर्ने कार्यलाई अगाडि बढाउँदै कोशेलीघरलाई थप व्यवस्थित गरिनेछ। ।
१४९. माटो सुहाउँदो कृषिलाई प्राथमिकता दिदै भाडगाँउ- अर्खले- भुवनपानी- बालकाटे -गुरुङगाउँ क्षेत्रलाई सुन्तला/कागती जोनको रूपमा विकसित गरिनेछ र उत्पादनको बजारीकरणका लागि सहजीकरण गरिनेछ ।
१५०. स्थानीय कृषि र पशुपालन व्यवसायीलाई प्रवर्द्धन गर्न किसानमैत्री बीमा कार्यक्रमहरूमा साझेदारी गरिनेछ ।
१५१. स्थानीय (रैथाने) जातका खाद्यान्न बालीको उत्पादन र संरक्षण गर्ने कार्य गैरसरकारी संस्थाको साझेदारीमा सञ्चालन गरिनेछ।
१५२. नगरपालिकाकको पर्यटन गुरुयोजना निर्माण गरी पर्यटन उद्योगलाई प्रवर्धन गरिनेछ।
१५३. बैङ्क तथा बित्तीय संस्थासँग सम्झौता एवम् समन्वय गरी उद्योगी तथा ब्यवसायीको लागि सहुलियतपूर्ण बिना धितो कर्जा उपलब्ध गराइनेछ ।
१५४. रेसुङ्गा नगरभित्र सदियौंदेखि रहेका र लोपोन्मुख भाषा, भेषभूषा, संस्कृति र परम्पराहरूको जगेर्ना र प्रवर्द्धन गर्नका लागि विशेष सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै सांस्कृतिक ग्राम स्थापना गरिनेछ ।
१५५. लुम्बिनी- पाल्पा- रिडी- रेसुङ्गा- ढोरपाटन- म्याग्दी- मुस्ताङ धार्मिक मार्गको रूपमा प्रवर्द्धन गरिनेछ ।
१५६. लुम्बिनी- पाल्पा- रानीमहल- रिडी- रेसुङ्गा- उलुकछत्र- बलकोट- सन्धिखर्क- सुपादेउराली-तिलौराकोट धार्मिक मार्गको प्रवर्द्धन गरिनेछ ।
१५७. रेसुङ्गा- कुर्घामालिका- बुर्तिवाङ- ढोरपाटन- म्याग्दी- मुस्ताङ पदमार्ग प्रवर्द्धनका लागि पर्यटन बोर्डसँग आवश्यक प्रक्रिया थालनी गरिनेछ ।
१५८. रेसुङ्गा-अर्जुन- भुवानेपार्क-जोगिथुम-उनायचौर ट्रीहाउसजस्ता पर्यटनस्थलहरूमा पिक्निक स्पोर्टको निर्माण कार्य थालनी गरिनेछ ।
१५९. पर्यटन विकासका लागि सम्भावनायुक्त स्थानहरूमा होमस्टे प्रवर्द्धन गरिनेछ ।
१६०. समुदायमा आधारित सहकारीहरूलाई प्रवर्द्धन गर्दै उत्पादन र उद्यमशीलतालाई प्रवर्द्धन गरिनेछ ।
१६१. सुपर मार्केट एवं मिनी मार्केट सञ्चालनका लागि निजी क्षेत्रसंग समन्वय गरिनेछ ।
१६२. नगरक्षेत्रभित्रका सिद्बबाबा मन्दिर र तम्घासस्थान भगवती मन्दिरको धार्मिक र ऐतिहासिक महत्वलाई मध्यनजर गर्दै विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
१६३. बढ्दो मौद्रीकरणको प्रभावलाई जनजीवनमा सकारात्मक सन्देश दिन ग्रामीण तथा शहरी अर्थतन्त्रलाई मध्येनजर गरी वित्तीय साक्षरता कार्यक्रम अभियानको रूपमा सञ्चालन गरिनेछ ।
१६४. रेसुङ्गा गौशालामा रहेका स्थानीय गाईहरूको संरक्षण गरी गौमुत्रको संकलन र प्रशोधन कार्यलाई सहजीकरण गरिनेछ ।
१६५. ऐतिहासिक, धार्मिक, जैविक विधिधताले भरिपूर्ण पर्यटकीय क्षेत्र रेसुङ्गाको प्रचार प्रसार गरी देशकै पर्यटन हब बनाउनका लागि २०८० लाई भ्रमण वर्षको रूपमा मनाउने र सो अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रियक्षेत्रका ख्यातिप्राप्त विशिष्ट व्यक्तिहरूलाई भ्रमण गराइनेछ ।
भौतिक पूर्वाधार विकास तर्फ
१६६. राष्ट्रिय राजमार्गसँग जोड्ने सहायक राजमार्गको रूपमा रहेको पटौती-दुर्गाफाँट-खर्ज्याङ्ग-राङ्बास-सिमिचौर-तम्घास सडकलाई पिच गर्न विशेष पहल गरिनेछ ।
१६७. रेसुङ्गा नगरपालिकाको समग्र विकासका लागि लगानी वृद्धि गर्न सार्वजनिक निजी साझेदारी नीति अन्तर्गत सर्वपक्षीय लागनी सम्मेलन गरिनेछ।
१६८. मझेङ्ग लिफ्टिङ्ग खानेपानी आयोजना समयमै सम्पन्न तथा अन्य खानेपानीका स्रोतलाई व्यवस्थित गरी नगरभित्र आगामी दुइ वर्षभित्र प्रत्येक घरमा स्वच्छ खानेपानी वितरण गरिनेछ ।
१६९. पानीको सुद्धीकरण मापन र सुद्धीकरणका लागि आवश्यक उपकरण जडान गर्न पहल गरिनेछ।
१७०. समग्र नगरपालिकाको पर्यटन प्रर्वधनको लागि एक वड़ा एक पर्यटकीय स्थल निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिनेछ ।
१७१. नगरपालिकाभित्रका ऐतिहासिक रेसुङ्गा तपोभूमि, भुवाने पार्क, उनायचौरको ट्री-हाउस अर्जुन डाँडा, साखिनेडाँडा, खाम्सेपानी, ह्वाक्नेछहरा र विभिन्न मठ मन्दिरलाई पर्यटकीय क्षेत्रको रूपमा विकास लागि पर्यटन पूर्वाधार कार्यक्रम लागत साझेदारीमा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ।
१७२. रेसुङ्गा नगरपालिकामा तयार भएको आवधिक नगर विकास योजनालाई क्रमशः लागु गरिनेछ ।
१७३ तम्घास पराल्मी इन्द्रेगौंडा सडकलाई स्तरोन्नति गरी यातायात सञ्चालन गर्न पहल गरिनेछ ।
१७४. रेसुङ्गा नगरपालिका वडा नं. ९ देउराली हुँदै वडा नं. ८, २ र १ मा पर्ने बजारक्षेत्र भित्र संघीय सरकारको सडक मापडण्डको कारण धितो मूल्याङ्कनबाट बञ्चित भएका घरजग्गाहरूलाई फुकुवा गर्न केन्द्रीय सरकारमा अनुरोध गरिनेछ ।
१७५. “सभ्यता रुपान्तरण र सम्पदा संरक्षण” लाई मूर्तरूप दिन पालिकाभित्रका ऐतिहाँसिक एवं पर्यटकीय महत्व राख्ने पुराना गोरेटा बाटा, पाटी पौवा, चौपारी धारा, पँधेराहरूलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र वडाका योजनासँग एकीकृत गरी संरक्षण गरिनेछ ।
१७६. मर्मत् सम्भार कोषको व्यवस्था गरी विविध कारणले क्षति पुर्याएको सडकहरूलाई तत्काल मर्मत् सम्हार गर्ने र बाह्रै महिना यातायात सञ्चालन हुने व्यवस्था मिलाइनेछ ।
१७७. चिदीचौर खेल मैदानलाई उचित संरक्षण तथा व्यवस्थापन गरिनेछ र गाडी आवतजावत तथा पार्किङ्ग गर्ने कार्यलाई तत्काल रोकिनेछ ।
१७८. रेसुङ्गा नगरलाई “हरित शहर” घोषणा गरी रेसुङ्गा र अर्जुनक्षेत्रका अनुत्पादक रुख विरुवाहरू हटाई उत्पादनमुखी काठ, फलफूल तथा जडिबूटीहरूको रोपण संरक्षणबाट हिल स्टेसन (HILL STATION) को रूपमा विकास गरिने छ ।
१७९. गुल्मी अस्पतालमा आवास भवन निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
१८०. रेसुङ्गा बहुमुखी क्याम्पसको लागि छात्राबास निर्माणको लागि आवश्यक पहल गरिनेछ ।
१८१. विद्युतीय काठका पोल तथा नाङ्गा तारहरूलाई प्रतिस्थापन गरी स्टिल पोल तथा कभर तारहरूको व्यवस्था मिलाइने छ ।
१८२. संभाव्यताका आधारमा नगरपालिकाभित्र स्याटलाइट वस्तीको निर्माण गरिनेछ ।
१८३. प्रत्येक वडामा संभाव्यताको आधारमा कभर्डहलको निर्माण गरिनेछ ।
१८४. प्रत्येक वडाबाट सदरमुकाम आउनको लागि पिच सडक निर्माण गरी यातायातको व्यवस्था गरिनेछ ।
१८५. नगरक्षेत्रभित्रका शहरी सडक र सवारी साधनहरूलाई व्यवस्थित गर्न आवस्यक पार्किङ्ग चिन्ह तथा स्थलहरूको व्यवस्था गरिनेछ ।
१८६. रेसुङ्गा विमानस्थलको लागि आवश्यक पर्ने भौतिक पूर्वाधार तथा उपकरणहरूको व्यवस्था गरी नागरिक उड्डयन प्राधिकरणसंग समन्वय गरी उडान सञ्चालन गरिनेछ ।
१८७. सञ्चारको समस्या भएका स्थानहरूको पहिचान गरी नेपाल टेलिकम दूरसञ्चार कार्यालयसँगको समन्वयमा आवस्यक सञ्चार पँहुचको व्यवस्था गरिनेछ ।
१८८. निजीक्षेत्रको लगानीमा पर्यटनलाई बढवा दिन रेसुङ्गा क्षेत्रमा जीपलाइन, बञ्जिजम्प, प्याराग्लाइडिङ्ग, घोडाचडी जस्ता साहसिक खेलहरूसंग सम्बन्धित पूर्वाधारहरुको सर्वे र डि.पि.आर. तयार गरिनेछ।
१८९. गर्जुरामा निर्माणाधीन पार्कको निर्माण सम्पन्न पश्चात् तथा उनायचौर पार्क ट्री हाउस र अर्जुन पर्यटकीय पार्कहरूलाई राजश्व सङ्कलन हुनेगरी सरकारी निजी साझेदारी कार्यक्रममार्फत् सञ्चालन गरिनेछ ।
१९०. नगरक्षेत्र भित्रका सडक निर्माण गर्दा भवन निर्माण मापदण्ड (विल्डिङ्ग बाइलज) अनुरूप गरिने छ र नगर यातायात गुरुयोजना (MTMP) तयार गरी सडक व्यवस्थित गरिनेछ ।
१९१. रेसुङ्गामा आउने अतिथि तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूको आवासका लागि साझा धर्मशाला निर्माण गर्न पहल गरिनेछ ।
१९२. रेसुङ्गाको उपयुक्त स्थानमा लक्ष्मीपुर संग्राहलयको निर्माण गर्न पहल गरिनेछ ।
१९३. एक वडा एक गौरवको आयोजनालाई निरन्तरता दिइनेछ।
१९४. नगरपालिकाको उपयुक्त स्थानमा “जेष्ठ नागरिक दिवा स्याहार केन्द्र” निर्माण गरिनेछ ।
१९५. रेसुङ्गा नगरपालिका पर्यटन पूर्वाधार विकासको लागि रेसुङ्गा सर्किट (रिङ्गरोड) निर्माण गरिनेछ साथै उक्त सर्किटभित्र पर्ने पर्यटकीय पूर्वाधार निर्माणमा सार्वजनिक निजी साझेदारी तथा अन्तर निकाय समन्वयमा लगानी गरिनेछ ।
१९६. सिमाहाघाट लप्सी निन्नीचौर लामडाँडा भुवनपानी वर्दवास छेडा नेटा सिखेधारा रेसुङ्गा विमानस्थल जोड्ने सडकलाई हवाइ पहुँच मार्गकोरूपमा विकास गरी आवश्यक स्तरोन्नति गरिनेछ ।
१९७. “दीर्घकालीन महत्वका भौतिक पूर्वाधार रेसुङ्गा समुन्नतिको बलियो आधार” भन्ने मूल नाराका साथ समग्र पूर्वाधार निर्माणमा जोष दिईनेछ।
१९८. सडक नाली तथा अन्य पूर्वाधारका संरचनाहरूको संरक्षण गरी दिगो विकासलाई सार्थक बनाउन यथास्रीर्घ मर्मत सम्भार तथा सरसफाईको व्यवस्था मिलाइनेछ ।
१९९. जिल्लामा हुने ठूला सभा, समाहरोह, सम्मेलन, गोष्ठी आदि कार्यक्रम सञ्चालन गर्न रेसुङ्गा नगरपालिका सुविधाजन्य बहुउद्देशीय सभाहल निर्माण गरिनेछ ।
२००. हाल निर्माणाधीनमा अवस्थामा रहेका पूर्वाधारहरू १. विद्युत सवस्टेशन २. गुल्मी अस्पताल ३.तम्घास रेसुङ्गा सडक, ४. तम्घास नेटा सडक ५. तम्घास खाम्सेपानी चेक्मी गुरुङ्गगाउँ सडक ६. खाम्सोनी भुवानपानी तल्लाखर्क रातडाडा सडक ७. देउराली राङबास सडक ८. तम्घास भाडगाउँ सडकलाई समयमै सम्पन्न गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराइनेछ ।
वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ
२०१. प्राकृतिक प्रकोपको लागि पूर्व तयारी गरिनेछ। आपतकालीन कार्य सञ्चालन केन्द्र मार्फत् आवश्यक सामग्री खरिद गरी भण्डारण गर्ने र घटना घट्ने वित्तिकै तालिमप्राप्त जनशक्ति, औषधि तथा उपकरणसहित सम्बद्ध स्थानमा पुग्ने व्यवस्था मिलाइनेछ ।
२०२. खुलाक्षेत्र छुट्टाई अल्पकालीन राहत तथा उद्दारको योजना निर्माण गरिनेछ साथै सबै वडामा दमकल तथा एम्बुलेन्स को पहुँचको व्यवस्था मिलाइनेछ ।
२०३. विगतमा गरिएका विपद् जोखिमक्षेत्र पहिचान नक्शाङ्कन पुनरावलोकन गरी कार्यन्वयनमा ल्याइनेछ ।
२०४. मौसमजन्य विपदमा परी घरबार विहीन नागरिकहरूको आवास निर्माण गर्न संघ, प्रदेश तथा स्थानीय तहको लागत सहभागितामा तोकिएको कार्यविधि अनुसार प्रक्रिया अगाडि बढाइनेछ ।
२०५ जनताको रहर सफा र स्वच्छ नगर कार्यक्रम सञ्चालन गरिने छ र नगरस्तरीय सरसफाइ कार्यक्रम नगर विकास तथा वातावरण संरक्षण संस्थामार्फत् व्यवस्थापन गरिनेछ ।
२०६. नगरको दीर्घकालीन सौन्दर्यता कायम गर्न वातावरणीय स्वच्छता र सरसफाइको लागि उपयुक्त स्थानको खोजी गरी एकल वा अन्तरपालिकाको लगानीमा प्रदुषण तथा दुर्गन्धरहित फोहोरमैला प्रशोधन केन्द्र स्थापना गरी उद्योगको रूपमा सञ्चालन गरिनेछ ।
२०७. आवश्यकताको आधारमा सार्वजनिक शौचालय निर्माण गरिनेछ। साथै निर्माण भएका सहिदगेट अगाडि, चिदीचौर र अर्घाखाँची जीपपार्कमा रहेका सार्वजनिक शौचालयहरूलाई मर्मत गरी सञ्चालनमा ल्याइनेछ ।
२०८. सेफ्टी ट्याङ्कीबाट निस्कने फोहोरलाई व्यवस्थित गर्न उपयुक्त स्थानको खोज गरी उचित व्यवस्थापन गरिनेछ ।
२०९. नगरभित्रका खोला खोल्साको सरसफाई तथा खोला किरानामा वृक्षरोपण गरी सौन्दर्यीकरण कार्यक्रम लागु गरिनेछ ।
२१०. सबै वडामा अनिवार्यरूपमा टोल विकास संस्था गठन गरी परिचालन गरिनेछ र उत्कृष्ट कार्य गर्ने टोल विकास संस्थालाई पुरस्कृत गरिनेछ ।
२११. रेसुङ्गा नगरपालिकालाई वातावरणमैत्री नगरपालिका घोषणा गर्न आवश्यक पूर्वाधार तयार गरिनेछ ।
२१२. “हरित शहर, रेसुङ्गा नगर” भन्ने मूल नाराका साथ हरित शहर निर्माणको सडकबत्ती नियमित गराइ उज्यालो शहर बनाइनेछ र बजारक्षेत्रमा कौशी बाटिका तथा अन्य क्षेत्रमा सामुदायिक वनहरूको क्षमता विकास गरी लागत सहभागितामा हरियाली प्रर्वधन गरिनेछ ।
२१३. नगरको सौन्दर्यीकरणका लागी नगरपालिका र प्रदेश सरकारको लागत सहभागितामा उपयुक्त स्थानमा पार्क तथा पुष्पबाटिका निर्माण गरिनेछ ।
२१४. नगरपालिकाभित्र सामुदायिक वनमा जडीबूटी तथा अन्य आय आर्जनको कार्यक्रम सञ्चालन गर्न इच्छुक सामुदायिक वन उपभोक्ता समितिसंग लागत साझेदारीमा नमुना कार्यक्रम सञ्चालन गरिनेछ ।
२१५. “स्वस्छ नगर स्वस्थ नागरिक” भन्ने मूल नाराका साथ नगरपालिकाका प्रत्येक घरमा संभव भएसम्म कम्तिमा दुईवटा फलफूल तथा सौदर्ययीकरणका विरुवा रोप्ने कार्यलाई अभियानको रूपमा सञ्चालन गरिनेछ ।
२१६. पानीका मुहान सरसफाइ र संरक्षण तथा संभव हुने स्थानमा बाटोको नालीको पानीको बहावलाई रोकी ठाउँ ठाउँमा पोखरी निर्माण गरी गरिनेछ साथै विगत वर्षदेखि सञ्चालनमा रहेको एक गाउँ एक पोखरीलाई निरन्तरता दिइनेछ ।
२१७. विकासको क्रममा रहेका साना शहरी बस्ती भएका क्षेत्रमा भवनलगायत अन्य भौतिक पूर्वाधारका कार्य गर्दा सडकको मापदण्ड, ढल, खेल मैदान, पार्कजस्ता विषयहरूलाई प्राथमिकता दिई निर्माण गर्न सबैलाई सुसूचित गरिनेछ ।
२१८. रेसुङ्गा नगरपालिकाका बजारउन्मुख क्षेत्रमा नगर विकास मापदण्ड अनुरूप कार्य गरिनेछ ।
२१९. स्मार्ट सिटीको अवधारणालाई मूर्तरूप दिन भूमिको वैज्ञानिक व्यवस्थापनको लागि डिजिटल नापी प्रणाली र भू-उपयोग योजना निर्माण गरी कार्यान्वयमा ल्याइनेछ ।
२२०. जलवायु परिवर्तनबाट पर्ने प्रभाव न्यूनीकरणको लागि सम्बद्ध पक्षको लागत सहभागितामा जलवायु अनुकूलन कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
२२१. रेसुङ्गाक्षेत्र लगायत अन्य स्थान र सडक संरक्षण तथा भू-क्षय रोक्न सडकको दुवै किनारामा बोट बिरुवा तथा अम्रिसो लगायतका विरुवा रोप्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
२२२. रेसुङ्गाक्षेत्रको वन विनास तथा चोरी निकासी र वन्यजन्तुको शिकार गर्नेलाई रोक्न आवश्यक पहल गरिनेछ ।
२२३. संघ तथा प्रदेशबाट निर्माण भएका भौतिक पूर्वाधारबाट स्थानीय तहमा रहेका स-साना पूर्वाधार तथा बस्तीहरू जोखिममा पर्ने र कुनै कुनै स्थानमा धनजनको क्षतिसमेत हुने देखिएकोले उक्त विषयमा आवश्यक नीति तर्जुमा गर्न संघ तथा प्रदेश सरकारमा अनुरोध गरिनेछ ।
२२४. विपद् व्यवस्थापन योजना, विपद् व्यवस्थापन नीति, स्थानीय वातावरण व्यवास्थापन ऐन स्वीकृत गरी कार्यन्वयनमा ल्याइनेछ ।
२२५. वातावरण व्यवस्थापन तथा विकास निर्माणलाई वातावरणमैत्री बनाउन जोखिम भू– सम्वेदनशील, भू-उपयोग योजना निर्माण गरिनेछ ।
२२६. नगरपालिका भित्रका सामुदायिक वनलाई सूचीकरण गरिने छ । सामुदायिक वनको वार्षिक कार्ययोजना स्थानीय सरकारबाट स्वीकृत गराई आन्तरिक आयको १० प्रतिशत हिस्सा नगरपालिकामा दाखिला गर्ने व्यवस्थालाई कार्यन्वयनमा ल्याइनेछ ।
२२७. तम्घास बजार तथा बस्तिक्षेत्रबाट बग्ने खोलाको तटबन्धन गरी बस्तीको संरक्षण गरी सफा नहर सुन्दर शहरको अवधारणालाई कार्यान्वयनमा ल्याइनेछ ।
सभासदज्यूहरु
उपरोक्त नीति तथा कार्यक्रम पूरा गर्न देहाय बमोजिम सोंच, लक्ष्य र उद्देश्य किटान गरेको छु ।
दीर्घकालीन सोच
“समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान ।
लक्ष्यः
कृषिमा आधुनिकीकरण, पर्यटन विकास, समावेशी विकास र नगरलाई ग्रीन सिटीको रूपमा विकास भई शान्त, सुन्दर र समुन्नत नगर ।
उद्देश्यः
आर्थिक विकास, समाजिक समाजिक, भौतिक पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासनमा जोड ।
दिर्घकालीन सोच र लक्ष्य प्राप्तको लागि आवधिक नगर विकास योजना, मध्यकालीन खर्च संरचना, विषयगत योजनाहरुसंग वार्षिक नीति, कार्यक्रम तथा बजेटसंग सामन्जस्यता ल्याउने ।
सभासदज्यूहरू
नगरपालिकामा संघ, प्रदेश तथा आन्तरिक आयबाट प्राप्त कुल रकम ८० करोड ७६ लाख १८ हजार मध्येबाट उपर्युक्त लक्ष्य, उद्देश्य प्राप्तिका लागि विषयगत प्राथमिकताका देहायका क्षेत्रहरूमा निम्नानुसार बजेट विनियोजन गरेको छु ।
प्रमुखक्षेत्र उपक्षेत्र बजेट
१. सामाजिकक्षेत्र स्वास्थ्य तथा पोषण, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, महिला बालबालिका तथा समाज कल्याण, खानेपानी तथा सरसफाई र समावेशी विकास, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सुरक्षित वैदेशिक रोजगार । ३५ करोड १३ लाख,
२. पूर्वाधारक्षेत्र स्थानीय पूर्वाधार, सडक यातायात, शहरी विकास, सञ्चार र विद्युत २० करोड २१ लाख
३. आर्थिकक्षेत्र कृषि तथा पशुपंक्षी पकेट क्षेत्र विस्तार, कृषिमा आधुनिकीकरण, संस्कृति तथा पर्यटन विकास, सहकारी तथा गरिवी निवारण राजगार १२ करोड ३१ लाख,
४. सुशासन तथा संस्थागत विकासक्षेत्र मानव संसाधन विकास, संस्थागत क्षमता विकास, लेखा प्रणाली, सूचना प्रविधि प्रयोग, सेवाको मापदण्ड निर्धारण, समन्वय र सहकार्य तथा तथ्याङ्क व्यवस्थापन, तलव भत्ता, भू—उपयोग, १० करोड ११ लाख,
५. वन वातावरण तथा विपद् व्यवस्थापनक्षेत्र विपद् व्यवस्थापन, प्रकोप व्यवस्थापन, फोहोर मैला व्यवस्थापन र वन तथा भू व्यवस्थापन वैकल्पिक उर्जा । ३ करोड १८ हजार, कुल वजेट रु. ८० करोड ७६ लाख १८ हजार ।
अन्त्यमा, सरकारको शासन प्रशासन जनताले देख्ने, सुन्ने र अनुभूत गर्ने हुनुपर्छ । समग्र विकासात्मक तथा प्रशासनिक गतिविधिबाट जनताको खुसियाली वृद्धि गर्ने हाम्रो एकमात्र अभियान हो । यो अभियान पूर्णताको लागि प्रस्तुत नीति कार्यक्रम तथा बजेट कोशेढुङ्गा सावित हुनेछ भन्ने मेरो विश्वास छ ।
नीति कार्यक्रम तथा बजेटले निर्दिष्ट गरेका लक्ष्य प्राप्तिको लागि राजनीतिक दल, नागरिक क्षेत्र, कर्मचारी वर्गको त्रिकोणत्मक समन्वयको आवश्यक पर्ने भएको हुँदा यो हाम्रो अभियानमा सहभाव, समन्वय र सहकार्यको दिशामा एकात्मक भावनाबाट लाग्न सबैमा हार्दिक अनुरोध गर्दै यो कार्यमा सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधिहरू नागरिक समाज, पत्रकार, कर्मचारी र जिल्लामा क्रियाशील सम्पूर्ण राजनीतिक दललाई धन्यवाद दिदै हाम्रो महत्वपूर्ण नारा “समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान” लाई पूर्णता गर्ने अठोटकासाथ विदा लिन्छु । धन्यवाद ।