लुम्बिनी प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही सवार गाडीले एक मोटर साइकललाई ठक्कर दिएको छ । मन्त्री शाहीको भे १ झ ३३१ नम्बरको गाडीले लु ७८ प ५६६३ मोटर साइकललाई ठक्कर दिएको हो ।
बिहीबार दिउँसो ४ बजे बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा रुपन्देहीको तिलोत्तमा–३ शंकरनगरमा मन्त्री सवार गाडीले ठक्कर दिएको हो । दुर्घटना लगत्तै मन्त्री शाही अर्को गाडीमा फरार भएको प्रतक्ष्यदर्शीले बताए । घटनास्थलमा ट्राफिक प्रहरी समेत पुग्न नभ्याउँदै मन्त्री शाही दुर्घटनामा परी घाइते व्यक्तिको वास्ता नगरी हतार-हतार अर्को गाडीमा चढेर पुनः भैरहवातर्फ हुँइकिएका हुन् ।
घाइते व्यक्ति बुटवल उपमहानगरपालिका–१२ तामनगर निवासी २० वर्षीय मिगिन मगर रहेका छन् । उनलाई आफन्तहरुले उपचारका लागि अस्पताल पुर्याएका छन् । घटना भएको केही समयपछि मात्रै ट्राफिक प्रहरी त्यहाँ उपस्थित भएको प्रत्यक्षदर्शीले बताए ।