फाइल तस्बिर काठमाडौँ – तारा एयरको विमान हराएको मुस्ताङको लेतेमा प्रतिकुल मौसम भएका कारण खोजीकार्यमा ढिलाइ भइरहेको बताइएको छ। थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले खोजी कार्यका लागि गाउँपालिकाका सम्पूर्ण वडाहरुमा सूचना सम्प्रेशण गरेको जानकारी दिए।
क्यानडा नेपालसँग उनले भने, ‘हामीले सम्पर्क विहिन भएको सूचना पाएपछि सबै तिर खबर गरेका छौँ। मौसम प्रतिकुल छ। पानी परिरहेको छ। डाँडाकाडामा कुहिरो लागेको छ। त्यसैले पनि खोजी कार्यमा कठिनाइ भइरहेको हो।’
मुस्ताङ विहान पहिलो उडान भइसकेको थियो भने तारा एयरको उडान दोस्रो उडानको रुपमा मुस्ताङ गएको हो। वडा नं. ४ का वडाअध्यक्ष नरेन्द्र शेरचनले आकाशमा आवाज आएको सुनिए पनि दुर्घटना कहाँ भएको छ भन्ने विषयमा केही प्रमाण फेला नपरेको र आफ्नो तर्फबाट खोजी कार्य जारी राखेको जानकारी दिएका छन्।
‘आकासमा आवाज आएको हो। बादल लागेका कारण कुन ठाउँ नजिक त्यस्तो भयो भन्ने केही जानकारी हुन सकेको छैन। हामीले आआफ्नो पाएक परेको ठाउँमा खोजी गरिरहेका छौँ।’
पोखराबाट जोमसोमका लागि आज बिहान ९ बजेर ५५ मिनेटमा उडेको उक्त जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयरले जनाएको छ ।(समाचार: क्यानाडा नेपाल )