असार १२, काठमाडौं – नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई उनले आज राजीनामा पत्र बुझाएका हुन् ।
आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरु सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद् हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए । तर पछि हस्ताक्षर गर्नेहरुमध्ये पर्यटनमन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए ।
एकीकृत समाजवादीले २२ जेठमा चार मन्त्री रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । बजेटमाथि छलफल भइरहेको भन्दै प्रधानमन्त्री देउवाले तत्काल मन्त्री हेरफेर गरेनन् ।
एकीकृत समाजवादीले मन्त्रीलाई फिर्ता बोलाउँदा राज्यमन्त्री खापुङलाई मन्त्री बनाउने सिफारिस गरेको छ । गैरसांसद कुँवरलाई पर्यटनमन्त्री सिफारिस गरिएको छ । कुँवर गैरसांसद हुन् । भने दाङबाट मेटमणि चौधरी मन्त्री र हिरा केसी राज्यमन्त्री सिफारिस भएका छन् ।