मनोज कार्की/मंसिर ०५,गुल्मी – गुल्मीका दुई स्थानीय तहले मंसिर ७ गते सार्वजनिक बिदा दिएका छन् । मंगलबार सूचना जारी गर्दै जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
मंसिर ७ गते अर्थात् हरिबोधिनी एकादशीका दिन धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकोले कार्यपालिका बैठकबाट भएको निर्णय बमोजिम सार्वजनिक विदा दिइएको रेसुङ्गा नगरपालिकाले निकालेको सूचनामा उल्लेख गरेको छ ।
त्यस्तै गुल्मी दरबार गाउँपालिकाले मंसिर ५ गते एक सूचना जारी गर्दै हरिबोधिनी एकादशीका दिन पालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको छ ।
हरिबोधिनी एकादशी पर्वको अबसरमा गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थल रेसुङ्गामा पूजा गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ । एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।