गुल्मी। काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दुई गाउँपालिकालाई १०/१० लाख रुपैयाँ अनुदान सहयोग दिने निर्णय गरेको छ । अग्नि प्रभावित दाङको ‘राजपुर गाउँपालिका’ र गुल्मीको ‘इस्मा गाउँपालिका’ लाई प्रति स्थानीय तह १०/१० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।
महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले, आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयको संकटपूर्ण जीवनमा तत्काल राहत उपलब्ध गराउन, खाद्यान्न, औषधोपचार, खानेपानी अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।
यो रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइनेछ । पालिकाहरूले महानगरपालिकासँग सहयोग माग गरेका थिए ।
वैशाख ८ र ९ गते गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी भएको थियो । यसबाट २८ वटा घर, ५१ वटा गोठ, १३ वटा भैँसी, ७८ वटा बाख्रासहित धन सम्पत्ति, पशु चौपायाको क्षति भएको छ ।
सहयोग रकम गाउँपालिकाहरूको प्रकोप व्यवस्थापन कोषमा पठाइने महानगरले जनाएको छ । महानगरपालिकाले यस अघि महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।