मनोज कार्की, गुल्मी – आजदेखि रिडी–तम्घास सडक पुनः एक महिनासम्म बन्द हुँने भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास रिडी सडकको रिडीदेखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरउन्नतीसँगै कालोपत्रे गर्न काम हुँदै आएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै सडक बन्द हुने जनाएको हो । गएको चैतदेखि सडक बन्द गरेरै काम हुँदै आएको छ । सडकको केहि ठाउँमा चट्टान फोर्ने र सडकको ग्रेड मिलाउने लगायतका कार्य गर्न भन्दै जेठ १८ गतेदेखि असार १६ गतेसम्म बिहान १० बजे देखि ४ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डको २५ किलोमिटर राजा सम्म समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । सडक निर्माणको काम तिब्र रुपमा अगाडी बढेको छ । सडकमा कटिङ्ग र स्तरउन्नतीको काम गर्न करिब २२ वटा जेसिबी डोजर प्रयोग गरेर काम भइरहेको छ । राजमार्गमा ७० प्रतिशत सडकको कटिङ्गको काम सकिएकोे समानन्तर इलाइट जेभीका इन्जिनियर राकेशकुमार पासवानले बताए ।
सडकमा सवारी साधनले काम गर्न अबरोध गर्नेभएपछि समय तोकेर बन्द गरेरै काम हुँदै आएको छ । सवारी साधनको बृद्धिसँगै पुरानो बाटोले साँघुरो हुँदै गएपछि रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडक बिस्तार हुँदैछ । पहिलो चरण २५ किलोमिटर सडक स्तरउन्नतीसँगै कालोपत्रे हुन लागेको हो । २०७९ साल फागुन २८ गते सम्झौत भइ २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।