मनु सुनार मनसुन \छड्के न्युज ।
गुल्मीमा कोरोना भाइरस संक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ । स्वास्थ्य कार्यालय गुल्मीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार संक्रिय संक्रमितको संख्या ५ सय ४६ पुगेको छ। पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ११३ जनाको कोरोना परीक्षण गरिएकोमा ३७ जना पूरुष र २३ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कुल संक्रमितको संख्या भने ५ हजार १९ पुगेको छ । १४ हजार १ सय ९ जनाको हालसम्म गरिएको कोरोना भाइरस परीक्षणमा २७ सय ४० जना पूरुष र २२ सय ७९ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये हालसम्म ४ हजार ३ सय ८१ जनाले कोरोना जितेर निको भएका छन्। दोश्रो लहरमा फैलिएको कोभिड–१९ संक्रमणका कारण ९३ जनाको मृत्यु भएको छ। ४१ जनाको जिल्ला भित्र र ५२ जनाको जिल्ला बाहिर मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीका फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो।कोभिड–१९ रोकथामका लागि भन्दै यहि साउन ३२ गतेसम्म गरिएको कडा निषेधज्ञाका कारण सदरमुकाम तम्घास सुनसान बनेको छ। लामो तथा छोटो दुरीमा सञ्चालन हुने सार्वजनिक तथा निजि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। लकडाउन अवधिमा खाद्यान्न पसलहरु साउन २७ र २९ गते विहान ६ बजे देखि विहान ९ वजेसम्म संचालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्वव पन्थीले जानकारी दिनुभयो ।
पन्थीका अनुसार औषधी तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शववाहन, ग्याँस, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन, सुरक्षाका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु, क्वारेनटिन तथा आइसोलेसनमा बिरामीको उपचारमा खटिएका सवारीसाधन, प्रेस पास तथा परिचयपत्र वाहक संचारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिमा अवरोध सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने उपर प्रचलित कानून वमोजिम कार्वाही हुनेछ । निषेधाज्ञाको उल्लंघन गरेमा कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।