यसअघि २५० सीसीसम्मका मोटरसाइकल तथा स्कुटरमा ४० प्रतिशत अन्तशुल्क भएकोमा अहिले भने मोटरसाइकलको वर्गीकरण नै परिवर्तन गरिएको छ । यस अनुसार १२५ सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत, १२५ देखि २ सय सीसीसम्मका मोटरसाइकलमा ५० प्रतिशत र २ सयदेखि २५० सीसीका मोटरसाइकलमा ६० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरिएको छ ।
५०० देखि ८०० सिसीका मोटरसाइकलमा भने २० प्रतिशत अन्तशुल्क बढाइएको छ। ५ सयदेखि ८ सय सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तशुल्क थियो। अहिले यो वर्गका मोटरसाइकलमा १०० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरिएको छ।
८०० सिसीमाथि भने अन्तशुल्क पुरानै दर १०० प्रतिशत कायम छ। प्रतिस्थापन विधेयकबाट सडक निर्माण दस्तुर समेत बढाइएको छ। सरकारले कर उठाउनकै लागि मोटरसाइकलको वर्गीकरण समेत थप गरेको छ।
यसअघि १५५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरमा १५ हजार रुपैयाँ, १५५–२५० सीसीसम्मका मोटरसाइकलमा १८ हजार रुपैयाँ, २५०–४०० सीसीससम्मका मोटरसाइकलमा ५० हजार रुपैयाँ र ४ सय सीसीभन्दा माथिका मोटरसाइकलमा १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्थ्यो।
तर प्रतिस्थापन विधेयकमा वर्गीकरण थप गरि सडक निर्माण दस्तुर बढाइएको छ। नयाँ व्यवस्थाअनुसार १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरमा १५ हजार रुपैयाँ, १२५–२५० सीसीसम्मका मोटरसाइकलमा १८ हजार रुपैयाँ, २५०–४०० सीसीसम्मका मोटरसाइकलमा ५० हजार रुपैयाँ र ४०० सीसीमाथिका मोटरसाइकलमा १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्ने व्यवस्था गरिएको छ।
अन्तशुल्क बढेसँगै अब नयाँ आउने १२५ देखि १५५ सिसी इन्जिन क्षमताका दुई पांग्रे सवारीसाधनको मूल्य बढ्नेछ। नेपाली बजारमा यी मध्यम मूल्यका र धेरै बिक्री हुने सवारी मानिन्छन्। त्यस्तै २०० देखि ८०० सिसीका बाइकको पनि मूल्य बढ्नेछ।साभार : ब्राइट नेपाल